अण्डाको फार्म मूल्य घट्यो, उपभोक्ता मूल्य भने यथावत्

काठमाडौं, ५ साउन । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ। संघको मंगलबार चितवनमा बसेको बैठकले साउन ६ गतेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

संघका अनुसार देशभरका अण्डा उत्पादकको राय, सुझाव र सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरिएको हो। यसअघि जेठ २८ गते तय गरिएको मूल्यको तुलनामा फार्म मूल्यमा प्रतिक्रेट ६० रुपैयाँसम्म कमी गरिएको छ।

नयाँ मूल्यअनुसार सबैभन्दा ठूलो आकारको अण्डाको फार्म मूल्य प्रतिक्रेट ५१५ रुपैयाँ कायम गरिएको छ। यसअघि यसको मूल्य ५७५ रुपैयाँ थियो।

त्यसैगरी ठूलो आकारको अण्डाको मूल्य ५६० रुपैयाँबाट घटाएर ५०० रुपैयाँ प्रतिक्रेट कायम गरिएको छ। मझौला आकारको अण्डाको मूल्य पनि ५३० रुपैयाँबाट घटाएर ४७० रुपैयाँ प्रतिक्रेट निर्धारण गरिएको छ। यी तीनै वर्गका अण्डाको मूल्यमा प्रतिक्रेट ६० रुपैयाँले कमी गरिएको संघले जनाएको छ।

सानो आकारको अण्डाको मूल्य पनि प्रतिपेटी ३ हजार २०० रुपैयाँबाट घटाएर २ हजार ९०० रुपैयाँ कायम गरिएको छ।

संघले चितवनलाई आधार मानेर समर्थन बिक्री मूल्य निर्धारण गर्दै आएको जनाएको छ। यसअघि जेठ २८ गते काठमाडौंमा बसेको बैठकले पनि सोही आधारमा मूल्य निर्धारण गरेको थियो।

फार्म मूल्यमा उल्लेख्य गिरावट आए पनि उपभोक्ताले तिर्नुपर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन। उपभोक्ताका लागि प्रतिगोटा २५ रुपैयाँ मूल्य यथावत् कायम रहेको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्