नेपाली सैनिक वार कलेजको १४औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं, ५ साउन । नेपाली सैनिक वार कलेजमा सञ्चालन भएको १४औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम मंगलबार सम्पन्न भएको छ।

गत २०८२ चैत १५ गतेदेखि सञ्चालन भएको उक्त तालिमको समापन प्रधान सेनापति महारथी अशोक राज सिग्देलले एक कार्यक्रमका बीच गरेका हुन्।

तालिममा महासेनानी दर्जाका ३५ जना सैनिक अधिकृतहरूको सहभागिता रहेको थियो। समापन समारोहमा तालिम प्रमुख शिक्षक उपरथी मधुकर सिंह कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

उक्त तालिममा महासेनानी प्रशान्त बज्राचार्य समग्र मूल्याङ्कनमा प्रथम भएका छन् भने सर्वोत्कृष्ट शोधपत्र पुरस्कार महासेनानी प्रकाश थापाले प्राप्त गरेका छन्।

समापन समारोहमा पूर्व प्रधान सेनापतिहरू, रथीवृन्द, उच्च सैनिक अधिकृतहरू तथा शिक्षार्थी अधिकृतका परिवारजनको उपस्थिति रहेको थियो।

नेपाली सेनामा सञ्चालन हुने सैनिक अधिकृतहरूको सबैभन्दा उच्च स्तरको यस तालिमको उद्देश्य शिक्षार्थीहरूलाई राज्य सञ्चालन, भू–राजनीति, आर्थिक गतिशीलता, राजनीतिक दर्शन, कूटनीति, विश्व व्यवस्था, सैन्य तथा सुरक्षा रणनीति, नेतृत्व तथा व्यवस्थापनसम्बन्धी विषयमा ज्ञान र क्षमता अभिवृद्धि गराउनु रहेको छ।

नेपाली सेनामा वि.सं. २०७१ सालदेखि सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म ४१० जना सैनिक अधिकृतहरू दीक्षित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्