एउटै प्रकृतिको सेवाका लागि दुई सरकारी एप, समन्वय अभाव देखियो

काठमाडौं, ५ साउन । सुशासनलाई प्राथमिकता दिँदै दोहोरो सुविधा दिने सरकारी संरचना खारेज तथा समायोजन गर्ने नीति अघि बढाइरहेको सरकारले विदेशमा रहेका नेपालीको समस्या समाधानका लागि भने एउटै प्रकृतिका दुई छुट्टाछुट्टै डिजिटल सेवा सञ्चालनमा ल्याएको देखिएको छ।

विदेशमा रहेका नेपाली नागरिकको समस्या अनलाइनमार्फत सुनुवाइ गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले जेठ १२ गते ‘मोफा मित्र’ एप सार्वजनिक गरेको थियो। यसै प्रकृतिको सेवा प्रदान गर्ने गरी युवा, श्रम तथा रोजगार मन्त्रालयले पनि मंगलबार ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक पोर्टल सार्वजनिक गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार ‘मोफा मित्र’ एपमार्फत विदेशमा समस्यामा परेका, हराएका वा अलपत्र परेका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस्तै, वैदेशिक रोजगारी वा भ्रमणका क्रममा विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउन आवश्यक समन्वय र निवेदन प्रक्रिया पनि एपमार्फत गर्न सकिने जनाइएको छ।

एपमार्फत विदेशमा काम गर्दा अङ्गभङ्ग भएका वा मृत्यु भएका नेपालीले पाउने क्षतिपूर्ति तथा बीमा रकम दाबी प्रक्रिया अघि बढाउन, विदेशस्थित नेपाली नियोग वा परराष्ट्र मन्त्रालयमा गुनासो दर्ता गर्न, त्यसको अवस्था ट्र्याक गर्न तथा विभिन्न देशमा रहेका नेपाली दूतावास, राहदानी र कन्सुलर सेवासम्बन्धी जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

यता श्रम मन्त्रालयले सार्वजनिक गरेको ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ पोर्टलले पनि विदेशमा रहेका नेपाली श्रमिकका समस्या तथा उजुरी अनलाइनबाटै दर्ता गर्ने सुविधा दिएको छ। यसमार्फत आवश्यक प्रमाणहरू मोबाइल वा कम्प्युटरबाट स्क्यान गरी वा फोटो खिचेर अपलोड गर्न सकिने, उजुरी दर्तापछि मोबाइल र इमेलमार्फत ट्र्याकिङ कोड प्राप्त हुने व्यवस्था गरिएको छ।

श्रम मन्त्रालयका अनुसार उक्त पोर्टल नेपाल प्रहरीको केन्द्रीय प्रणालीसँग समेत जोडिएको छ। यसले पीडितलाई उजुरीका लागि काठमाडौं धाउनुपर्ने, बस्नुपर्ने तथा कागजात हराउने जस्ता समस्याबाट राहत दिने उद्देश्य राखेको छ।

श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको एपबारे आफूहरूलाई जानकारी नभएको बताए। उनले श्रम मन्त्रालयले विदेशमा रहेका पीडित श्रमिकहरूको उजुरी व्यवस्थापनलाई सहज बनाउन नयाँ प्रणाली सञ्चालनमा ल्याएको बताए।

“अब उजुरी दिनका लागि पीडितहरू काठमाडौं आउनुपर्ने छैन। आफू बसेको स्थानबाट उजुरी दिएपछि विभागले अध्ययन गरी सम्बन्धित पक्षसँग सम्पर्क गर्छ,” घिमिरेले भने।

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका श्रमिकहरूको समस्या समाधानलाई सहज बनाउने उद्देश्यले सुरु गरिएको ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ पोर्टलको औपचारिक उद्घाटन युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा गरेका हुन्।

सरकारले डिजिटल सेवा विस्तार गर्दै लगे पनि समान प्रकृतिका कामका लागि विभिन्न मन्त्रालयले छुट्टाछुट्टै प्रणाली सञ्चालन गर्दा सेवाग्राहीमा अन्योल सिर्जना हुन सक्ने भन्दै अन्तरमन्त्रालय समन्वयको आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस्