एक महिनापछि नियन्त्रणमा आयो ‘माडीगज’ हात्ती

काठमाडौं, ५ साउन । चितवन राष्ट्रिय निकुञ्जबाट एक महिनाअघि हराएको ‘माडीगज’ नामको हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गिदेनी पोस्टबाट चराउन लगिएको क्रममा गैँडाको आवाज सुनेपछि तर्सिएर माडीगज भागेको थियो। लामो खोजीपछि प्राविधिक टोलीले सोमबार लामिचौर नजिक डार्टमार्फत बेहोस बनाउने औषधि प्रयोग गरी हात्तीलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको हो।

१३ वर्षको उक्त हात्तीलाई हाल लामिचौर पोस्टमा राखिएको छ। माउतेले आवश्यक हेरचाह गरी पूर्ववत् अवस्थामा फर्काएपछि पुनः गिदेनी पोस्टमा लगिने निकुञ्जले जनाएको छ।

निकुञ्जका अनुसार हात्तीहरू कहिलेकाहीँ गैँडा, बाघजस्ता वन्यजन्तुसँग तर्सिने वा ‘मात’ लागेका बेला भाग्ने गर्छन्। यस्ता हात्तीलाई उचित स्याहार–सुसार गरेपछि केही दिनमै सामान्य अवस्थामा फर्काउन सकिन्छ।

हाल चितवन राष्ट्रिय निकुञ्जमा ५३ वटा वयस्क र तीन वटा बच्चा हात्ती रहेका छन्। यी हात्तीहरूले निकुञ्जको सुरक्षा तथा संरक्षण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्