कृषि रूपान्तरण र खाद्य सुरक्षामा सहकार्य विस्तार गर्ने नेपाल–एफएओबीच सहमति
काठमाडौंं, ५ साउन । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) की दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाकी निर्देशक तथा महानिर्देशक कार्यालयकी क्याबिनेट उपनिर्देशक हुआ याङबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपालमा खाद्य सुरक्षा, कृषि क्षेत्रको रूपान्तरण, दिगो कृषि–खाद्य प्रणालीको विकास तथा दक्षिण–दक्षिण र त्रिपक्षीय सहयोग विस्तारका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
सो अवसरमा मन्त्री चौधरीले कृषि क्षेत्रको आधुनिकीकरण, खाद्य सुरक्षाको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि एफएओसँगको सहकार्यलाई थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताइन्।
छलफलमा सीमापार पशुरोग नियन्त्रण, जलवायु अनुकूल कृषि विकास, कृषि प्रयोगशालाको क्षमता अभिवृद्धि, मान्यताप्राप्त प्रयोगशालाको स्थापना, उच्च मूल्ययुक्त कृषि उपजको निर्यात प्रवर्द्धन तथा भौगोलिक संकेत (GI) सम्बन्धी कानुनी र संस्थागत व्यवस्था सुदृढ गर्ने विषयमा पनि विचार आदानप्रदान भएको थियो।
उपनिर्देशक हुआ याङले हालै दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाको नेतृत्व सम्हालेको जानकारी दिँदै नेपाललाई उच्च प्राथमिकतामा राखेर सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
उनले कृषि विज्ञान तथा नवप्रवर्तनसम्बन्धी आगामी अन्तर्राष्ट्रिय कार्यक्रम तथा इटालीको रोमस्थित एफएओ मुख्यालयमा आयोजना हुने कार्यक्रमहरूमा नेपाललाई सहभागी हुन निमन्त्रणा समेत दिइन्।
भेटका क्रममा नेपाल सरकार र एफएओबीच दिगो, उत्थानशील तथा समावेशी कृषि–खाद्य प्रणाली विकासका लागि आपसी साझेदारीलाई थप सुदृढ बनाउने सहमति भएको मन्त्रालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्