आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन : मौसमविद्
काठमाडौंं, ५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहे पनि आगामी दुई दिन भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकाले बाढी–पहिरोको जोखिम तुलनात्मक रूपमा कम रहने अनुमान गरिएको छ।
उनका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने देखिएको छ।
मौसमविद् दाहालले हिजो र अस्तिको तुलनामा भोलि र पर्सी वर्षाको मात्रा केही घट्ने संकेत देखिएको पनि बताए।
जल तथा मौसम विज्ञान विभागले प्रभावमा आधारित मौसम पूर्वानुमान प्रणालीमार्फत समय–समयमा अद्यावधिक सूचना जारी गरिरहेको भन्दै आवश्यक जानकारी नियमित रूपमा हेर्न विभागले आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्