संविधानको मर्मविपरीत प्रदेशमा सत्ता समीकरण बनाउन हुँदैन : कांग्रेस

काठमाडौं, ४ साउन । नेपाली कांग्रेसले प्रदेश सरकार गठनका क्रममा संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने धारणा सार्वजनिक गरेको छ।

बीपी स्मृति दिवसका कार्यक्रमबारे जानकारी दिन सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिपक्षविहीन प्रदेशसभाको परिकल्पना संविधानले नगरेको बताए।

उनले संविधानको मूल भावना विपरीत हुने गरी प्रदेशमा सत्ता समीकरण निर्माण गर्नु उपयुक्त नहुने उल्लेख गर्दै कांग्रेस आवश्यक परे प्रतिपक्षमा बस्न पनि तयार रहेको बताए।

“कांग्रेस प्रतिपक्षविहीन प्रदेशको परिकल्पना गर्दैन। आवश्यक परे प्रतिपक्षमा बसेर पनि लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन तयार छ,” शर्माले भने।

उनले वर्तमान राजनीतिक परिस्थिति र संविधान संशोधनसम्बन्धी छलफल जारी रहेका बेला संविधानको मूल मर्मबाट बाहिर जाने कुनै पनि निर्णय उचित नहुने धारणा राखे। कांग्रेसले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र सन्तुलित राजनीतिक अभ्यासलाई कायम राख्ने पक्षमा आफू रहेको पनि उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्