छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा दुई शिक्षकसहित तीन जना पक्राउ
काठमाडौं, ४ साउन । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विद्यालयका सवारी चालक सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई तथा शिक्षकहरू सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन्।
मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विद्यालय परिसर र सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार शिक्षक मास्केले छात्राहरूलाई सामाजिक सञ्जालको म्यासेन्जरमार्फत भेट्न प्रस्ताव गर्ने तथा अमर्यादित सन्देश पठाउने गरेको आरोप छ। पटक–पटक सन्देश पठाएर हैरानी दिएको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरेका थिए।
विद्यार्थीको प्रदर्शनअघि नै प्रहरीले सोमबार बिहान तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका शिक्षकहरूले छात्रालाई परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा यौनजन्य दुर्व्यवहार भएको आशंकामा अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानका क्रममा थप व्यक्ति संलग्न भएको पुष्टि भए कानुनअनुसार कारबाही गरिने प्रहरी नायब उपरीक्षक मिश्रले बताए।
प्रहरीले घटनाबारे सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्न र अनुसन्धान प्रक्रियामा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्