पछिल्लो २४ घण्टामा देशभर ६२ विपद्का घटना, दुई जनाको मृत्यु

काठमाडौं, ४ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६२ वटा विपद्जन्य घटना भएका छन्। बाढी, पहिरो, डुबान र सर्पदंशलगायतका घटनाबाट दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सर्पदंशका कारण दुई जनाको मृत्यु भएको हो। सर्पदंशका घटनाबाट ११ जना घाइते भएका छन्। सर्पदंशका घटना नौ जिल्लामा भएको उनले जानकारी दिइन्।

त्यस्तै पहिरोका कारण दुई जना घाइते भएका छन् भने ११ जिल्ला प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न विपद्का कारण ११ वटा सडक अवरुद्ध भएका छन्। विपद्का घटनाबाट करिब १२ लाख २७ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ। यस अवधिमा छ वटा चौपायासमेत क्षति भएका छन्।

प्राधिकरणको विवरणअनुसार १८ जिल्लामा २६ वटा पहिरो, १३ वटा सर्पदंश, आठ वटा आगलागी, सात वटा अविरल वर्षा, पाँच वटा जनावर आक्रमण र तीन वटा बाढीका घटना भएका छन्।

यी घटनाबाट देशका ४७ जिल्ला प्रभावित भएका छन्। उद्धार तथा राहत कार्यका लागि सुरक्षा निकायका २६७ जना जनशक्ति परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

शनिबार र आइतबार देशका विभिन्न स्थानमा भएको मध्यमदेखि भारी तथा अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानका घटना बढ्न सक्ने जोखिमलाई ध्यान दिँदै प्राधिकरणले पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्