सेयर बजारमा लगातार पाँचौं दिन वृद्धि, नेप्से २७१९ अंकमा पुग्यो

काठमाडौं, ४ साउन । नेपाली सेयर बजारले वृद्धिको गति निरन्तरता दिएको छ। सोमबार नेप्से परिसूचक ४१.७० अंक (१.५५ प्रतिशत) बढेर २७१९ अंकमा पुगेको छ।

अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंकले बढेको बजार पछिल्ला दुई कारोबार दिनमै १२० अंकले उकालो लागेको हो। सोमबारको नेप्से अंक एक महिनायताकै उच्च हो। यसअघि गत जेठ २९ गते नेप्से २७२४ अंकमा पुगेको थियो।

सोमबार कारोबार अवधिभर बजार सकारात्मक रह्यो। बजार बन्द हुँदाको नेप्से अंक नै दिनकै उच्च बिन्दु बनेको छ। योसँगै बजार लगातार पाँचौं कारोबार दिन बढेको हो।

कारोबार रकममा पनि सुधार आएको छ। आइतबार ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार २३९ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा अगाडि

समूहगत परिसूचक हेर्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.२१ प्रतिशतले बढेको छ। अन्य समूह २.८१ प्रतिशत, जलविद्युत् २.७९ प्रतिशत, होटल तथा पर्यटन १.९८ प्रतिशत र लगानी समूह १.५५ प्रतिशतले बढेका छन्।

त्यस्तै विकास बैंक १.४८ प्रतिशत, व्यापार १.१४ प्रतिशत, फाइनान्स ०.९३ प्रतिशत, जीवन बीमा ०.८४ प्रतिशत, बैंकिङ ०.५५ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.३७ प्रतिशतले बढेका छन्।

एभरेस्ट कलरको सेयरमा उच्च वृद्धि

हालै सूचीकृत भएको एभरेस्ट कलरको सेयर मूल्य सोमबार १५ प्रतिशतले बढेको छ। त्यस्तै रिजलाइन इनर्जीको १३.९५ प्रतिशत, श्रीनगर एग्रिटेकको १०.९५ प्रतिशत, सोलु हाइड्रोपावरको ९.९३ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ८.६२ प्रतिशत, हाथवे इन्भेस्टमेन्टको ८.६१ प्रतिशत र शिखर पावरको ७.८३ प्रतिशतले मूल्य बढेको छ।

यस दिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ६.८६ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ६.८५ प्रतिशतले घटेको छ।

यी कम्पनीमा भयो धेरै कारोबार

कारोबार रकमका आधारमा सोमबार आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालय रिइन्स्योरेन्सलगायत कम्पनी अगाडि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्