नेपालमा ९ वर्ष कैद सजाय काटेका अमेरिकी नागरिक कुम्ब्स अमेरिकामा पनि दोषी ठहर

काठमाडौं, ४ साउन । नेपालमा बालयौन दुराचारको अभियोगमा ९ वर्ष कैद सजाय भोगेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्स अमेरिकी संघीय अदालतबाट पनि दोषी ठहर भएका छन्।

अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार कुम्ब्सलाई नेपालमा गरेको सोही कसुरका आधारमा अमेरिकी कानुनअनुसार दोषी ठहर गरिएको हो।

नेपालमा सजाय पूरा गरी अमेरिका फर्किएका कुम्ब्सलाई अमेरिकी कानुन प्रवर्द्धन निकायले सेप्टेम्बर २०२५ मा पक्राउ गरेको थियो। उनी पक्राउ परेदेखि नै हिरासतमा रहेको अमेरिकी न्याय विभागले जनाएको छ। उनलाई आगामी अक्टोबर २८ मा अमेरिकी अदालतले सजाय सुनाउने तयारी गरेको छ।

अमेरिकी न्याय विभागका अनुसार कुम्ब्सले सन् २०१६ मा नेपालमा बस्दा होटलमा आठ जना बालबालिकामाथि यौन दुर्व्यवहार गरेका थिए। उनले पीडित बालबालिकालाई नियन्त्रणमा लिन बल प्रयोग गर्ने, जबरजस्ती नशालु पदार्थ सेवन गराउने र आर्थिक प्रलोभन दिने जस्ता उपाय अपनाएको उल्लेख गरिएको छ।

नेपालमा भने बालबालिकाको यौन शोषणका लागि संगठित रूपमा गिरोह सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा २०७३ भदौ २४ गते काठमाडौँको ठमेलस्थित याम्बु होटलबाट कुम्ब्स र उनलाई सहयोग गरेको आरोपमा स्वयम्भूका २१ वर्षीय बुद्ध पुतवार पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंले २०७४ वैशाख १० गते कुम्ब्सलाई ९ वर्ष र पुतवारलाई ४ वर्ष कैद सजाय सुनाएको थियो।

अमेरिकी न्याय विभागका अनुसार कुम्ब्सका इलेक्ट्रोनिक उपकरणबाट पीडित बालबालिकासँग सम्बन्धित तस्वीरहरू समेत बरामद भएका थिए।

यस प्रकरणको अनुसन्धानमा नेपालस्थित अमेरिकी दूतावास, नेपाल प्रहरीको सीआईबी, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय र नेपाली गैरसरकारी संस्था नयाँ पाइलाले सहयोग गरेको अमेरिकी न्याय विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्