जलवायु परिवर्तनको असरले बदलिँदै कृषि, दिगो उत्पादन र कृषि व्यापारमा जोड दिन विज्ञको आग्रह

काठमाडौं, ४ साउन । जलवायु परिवर्तनका कारण नेपालको कृषि प्रणालीमा ठूलो असर परेको भन्दै कृषि विज्ञहरूले दिगो कृषि, उत्पादन वृद्धि र कृषि व्यापार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

कृषि विभागका पूर्वमहानिर्देशक तथा नेपाल कृषि अनुसन्धान परिषद्का पूर्वसदस्य–सचिव शिवबहादुर नेपाली प्रधानले मौसमको बदलिँदो स्वरूपले कृषि चक्र र किसानको दैनिकीमा प्रत्यक्ष प्रभाव पारिरहेको बताएका छन्।

उनका अनुसार विगतको जस्तो जाडो, गर्मी र वर्षाको नियमित चक्र अहिले देखिन छाडेको छ। साउने झरी र भदौरे वर्षाको स्थानमा छोटो समयमा हुने अत्यधिक वर्षा, बाढी र डुबानजस्ता समस्या बढ्दै गएको उनले उल्लेख गरेका छन्।

कृषिमा चुनौतीसँगै अवसर पनि

प्रधानले नेपालमा कृषि उत्पादनका क्षेत्रमा अनेक समस्या रहे पनि त्यसलाई अवसरमा बदल्न सकिने बताए। किसानले हात्ती, बाँदरलगायत वन्यजन्तुको समस्या, बजार अभाव र उत्पादनको उचित मूल्य नपाउने अवस्था भोगिरहेको उनको भनाइ छ।

“समस्या छ भन्दैमा समाधान छैन भन्ने होइन, हरेक समस्याका अनेक उपाय हुन्छन्,” उनले भने।

उनका अनुसार नेपाललाई लामो समयदेखि कृषिप्रधान देश भनिए पनि कृषि उत्पादन, बजारीकरण र प्रविधिको प्रयोगमा अपेक्षित सुधार हुन सकेको छैन।

फलफूल र तरकारी खेतीबाट बढाउन सकिन्छ किसानको आम्दानी

प्रधानले खाद्यान्नसँगै तरकारी र फलफूल खेतीको प्रवर्धनले किसानको आयस्तर सुधार गर्न सक्ने बताए। आलुको बीउ, हरियो तरकारी, केरा र आँप उत्पादनमा भएका केही सकारात्मक उदाहरणलाई विस्तार गर्नुपर्ने उनको सुझाव छ।

उनले खाद्यान्न तथा पोषण सुरक्षाका लागि दिगो कृषि प्रणाली विकास गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको बताए।

उत्पादन मात्र होइन, गुणस्तर र प्रशोधनमा पनि ध्यान आवश्यक

कृषि उत्पादन बढाउन खेतीयोग्य क्षेत्र विस्तारसँगै उत्पादकत्व वृद्धि गर्नुपर्ने प्रधानको भनाइ छ। उन्नत बीउ, बाली पोषण, पानी व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोगमा सुधार आवश्यक रहेको उनले बताए।

उत्पादनको गुणस्तरअनुसार ग्रेडिङ, भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा ध्यान दिन नसक्दा किसानले उचित मूल्य पाउन नसकेको उनको भनाइ छ।

उनले कृषि उपजको प्रशोधन र उपयोगमा जापानको उदाहरण दिँदै फलफूलका बोक्रासमेत उद्योगमा प्रयोग हुने प्रणाली नेपालमा पनि विकास गर्नुपर्ने बताए।

कृषिजन्य उद्योग विस्तार गर्नुपर्नेमा जोड

प्रधानले फलफूल उत्पादन हुने क्षेत्रमा सङ्कलन केन्द्र, पोस्ट हार्भेस्ट प्रविधि र प्रशोधन उद्योग स्थापना गर्न सके किसान, उद्योगी र देशकै अर्थतन्त्रलाई लाभ पुग्ने बताए।

त्यस्तै, पशुपालन क्षेत्रमा पनि आधुनिकीकरण आवश्यक रहेको उनको भनाइ छ। भेडाको ऊन प्रशोधन, मौरीपालन, मह उत्पादन, गुच्ची च्याउ, केसर र अन्य उच्च मूल्यका कृषि उत्पादनमा नेपालले सम्भावना खोज्नुपर्ने उनले बताए।

कृषि व्यापारलाई अर्थतन्त्रको आधार बनाउनुपर्ने

नेपालमा कृषि उत्पादनको सम्भावना उच्च रहेकाले आन्तरिक तथा बाह्य व्यापारमा कृषिलाई प्राथमिकता दिनुपर्ने प्रधानले बताए।

शहरी क्षेत्रमा हुने पशुजन्य उपभोगबाट निस्कने छाला, रौं, भुत्ला र हड्डीजस्ता वस्तुको उपयोग गरी नयाँ उद्योग स्थापना गर्न सकिने उनको सुझाव छ।

इजरायलबाट सिक्नुपर्ने आवश्यकता

प्रधानले इजरायलले मरुभूमिमा समेत आधुनिक प्रविधि प्रयोग गरेर कृषि क्रान्ति गरेको उदाहरण दिँदै नेपालले पनि अनुसन्धान, शिक्षा र विस्तार सेवाबीच समन्वय गर्नुपर्ने बताए।

उनका अनुसार थोपा सिँचाइ, आधुनिक प्रविधि र अनुसन्धानमा आधारित कृषि प्रणाली विकास गर्न सके नेपालले उत्पादन र उत्पादकत्व दुवै बढाउन सक्छ।

“कृषि शिक्षा, अनुसन्धान र विस्तारलाई एउटै लयमा अघि बढाउन सक्यौं भने नेपालको अर्थतन्त्रको केन्द्र कृषि बन्न सक्छ,” प्रधानले भने।

प्रतिक्रिया दिनुहोस्