उच्च अदालत पाटनबाट एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौं, ४ साउन । उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ४६८ वटा मुद्दा फछ्र्योट गरेको छ। अदालतमा कुल १६ हजार १३९ मुद्दाको लगत रहेकामा उक्त संख्यामा मुद्दा किनारा लगाइएको हो।

अदालतले दुई वर्ष नाघेका र १८ महिना नाघेका मुद्दालाई शून्यमा झार्न सफल भएको जनाएको छ। यस्तै, एक वर्षभन्दा पुराना मुद्दाको संख्या ३५३ रहेको छ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार १८ महिनाभन्दा पुराना मुद्दा शून्यमा झारिएको बताए।

उनका अनुसार अदालतले विकास निर्माण र राजस्व असुलीसँग सम्बन्धित मुद्दालाई विशेष प्राथमिकता दिएर काम गरिरहेको छ।

“विकास निर्माण र राजस्व असुलीका मुद्दालाई विशेष प्राथमिकता दिएका छौँ,” मुख्य न्यायाधीश कुँवरले भने।

उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा हालसम्म ७४० वटा मुद्दा फछ्र्योट गरिसकेको जनाएको छ। यस अवधिमा एक वर्ष नाघेका थुनुवा मुद्दा भने १२ वटा बाँकी रहेका छन्।

अदालत मातहतका जिल्लामध्ये सिन्धुपाल्चोक जिल्ला अदालतले ७७.४ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ भने रसुवाले ७५.६ प्रतिशत मुद्दा किनारा लगाएको छ। जिल्ला अदालत काठमाडौंको मुद्दा फछ्र्योट दर सबैभन्दा कम ४२.३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्