लाइसेन्सका लागि स्वास्थ्य परीक्षणमा सहजता, मेडिकल काउन्सिलमा दर्ता चिकित्सकको प्रमाणपत्र मान्य हुने

काठमाडौं, ४ साउन । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न आवश्यक स्वास्थ्य परीक्षणलाई थप सहज, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागू गर्न पहल गरेको छ।

विभागले सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयलाई परिपत्र जारी गर्दै नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त चिकित्सकले जारी गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन अनुरोध गरेको हो।

विभागअन्तर्गतको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिं राईद्वारा गत असार ३२ गते जारी परिपत्रमा हालको स्वास्थ्य परीक्षण प्रणालीका कारण सेवाग्राहीले अनावश्यक भीड, अतिरिक्त आर्थिक भार तथा सीमित समूहको संलग्नताबाट सिण्डिकेटजस्ता समस्या भोग्नुपरेको उल्लेख गरिएको छ।

परिपत्रमा सेवा प्रवाहलाई थप सरल, पारदर्शी र एकरूप बनाउन नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका तथा इजाजत प्राप्त चिकित्सकले जारी गर्ने स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिनुपर्ने उल्लेख गरिएको छ। यो निर्णय २०८३ जेठ १३ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार कार्यान्वयनका लागि प्रदेश मन्त्रालयहरूलाई पठाइएको विभागले जनाएको छ।

यस व्यवस्थाले सवारी चालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण प्रक्रियालाई थप व्यवस्थित, मर्यादित र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको विभागको भनाइ छ।

यसैबीच, यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलसँग मान्यता प्राप्त चिकित्सकहरूको विवरण पनि माग गरेको छ। विभागले साउन १ गते काउन्सिललाई पत्राचार गर्दै दर्ता तथा इजाजत प्राप्त चिकित्सकहरूको सूची उपलब्ध गराउन अनुरोध गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्