देउवा समूहले साउनभित्र राष्ट्रिय भेला गर्ने घोषणा
काठमाडौं, ३ असार । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।
देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेला गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
कांग्रेसभित्रको आन्तरिक विवाद चर्किरहेका बेला देउवा पक्षले राष्ट्रिय भेला बोलाउने घोषणा गरेको हो। विश्वकर्माका अनुसार विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी एकताका लागि सात महिना बितिसक्दा पनि प्रभावकारी पहल नगरेको र अदालतको फैसलापछि पनि समस्या समाधानतर्फ ठोस कदम नचालेको भन्दै राष्ट्रिय बहसका लागि भेला आयोजना गर्न लागिएको हो।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विज्ञप्तिमा राष्ट्रिय राजनीति अनपेक्षित दिशातर्फ गइरहेको र स्थापित राजनीतिक दललाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै पार्टीभित्र बलियो एकता आवश्यक रहेको जनाइएको छ।
“नागरिक अधिकार र लोकतन्त्रको रक्षाका लागि नीतिगत छलफल गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो,” विज्ञप्तिमा भनिएको छ।
देउवा पक्षले संस्थापन पक्षले सहकर्मी दलहरूप्रति सार्वजनिक मञ्चबाट चिढ्याउने खालका अभिव्यक्ति दिएको आरोप पनि लगाएको छ। यस्ता गतिविधिले आन्दोलनबाट प्राप्त नागरिक अधिकार कमजोर हुने जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ।
विश्वकर्माले राष्ट्रिय भेलाको मिति, समय र स्थान भने साउन ६ गते जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा सार्वजनिक गरिने जानकारी दिए। उनका अनुसार भेलाले पार्टीको आगामी नीति तथा भावी संगठनात्मक रणनीतिबारे छलफल गरी निष्कर्ष निकाल्नेछ।













प्रतिक्रिया दिनुहोस्