७२ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय

काठमाडौं, ३ असार । नेपालमा रहेका ज्येष्ठ नागरिकमध्ये ७२ प्रतिशतभन्दा बढी कृषि क्षेत्रमा सक्रिय रहेको पाइएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सार्वजनिक गरेको ‘तथ्यांकमा ज्येष्ठ नागरिक २०८३’ अनुसार अधिकांश आर्थिक रूपमा सक्रिय ज्येष्ठ नागरिकको संलग्नता कृषि क्षेत्रमा रहेको देखिएको हो।

प्रतिवेदनअनुसार हाल नेपालमा ज्येष्ठ नागरिकको संख्या ३३ लाख ५५ हजार ८०८ पुगेको छ। तीमध्ये ६८.८ प्रतिशत ज्येष्ठ नागरिक स्वव्यवसाय वा कामदारका रूपमा सक्रिय रहेका छन्।

त्यस्तै, १३.४ प्रतिशत ज्येष्ठ नागरिक रोजगारमा रहेका छन् भने ०.८ प्रतिशत रोजगारदाताको भूमिकामा छन्। १७ प्रतिशत ज्येष्ठ नागरिक भने परिवारका सहयोगीका रूपमा रहेका छन्।

आर्थिक रूपमा सक्रिय ज्येष्ठ नागरिकमध्ये सबैभन्दा धेरैको संलग्नता कृषि क्षेत्रमा रहेको प्रतिवेदनले देखाएको छ। कुल सक्रिय ज्येष्ठ नागरिकमध्ये ७२.६ प्रतिशत कृषि क्षेत्रमा काम गरिरहेका छन् भने २७ प्रतिशत गैरकृषि क्षेत्रमा आबद्ध छन्।

प्रतिवेदनले ज्येष्ठ नागरिकको आर्थिक सक्रियता अझै पनि परम्परागत कृषि पेशामै केन्द्रित रहेको देखाएको छ। नेपालमा ज्येष्ठ नागरिकको संख्या बढ्दै जाँदा उनीहरूको आर्थिक अवस्था, सामाजिक सुरक्षा र रोजगारीको अवस्थाबारे तथ्यांकले महत्वपूर्ण संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्