ठूला करदाताबाट २ खर्ब ४६ अर्ब राजस्व संकलन, लक्ष्यभन्दा १९ प्रतिशत कम

काठमाडौं, ३ असार । आर्थिक वर्ष २०८२/८३ मा ठूला करदाता तथा ठूला कारोबारीबाट २ खर्ब ४६ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो ठूला करदाता कार्यालयलाई दिइएको लक्ष्यको ८१.११ प्रतिशत मात्र हो।

वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्ने करदातालाई ठूला करदाताका रूपमा वर्गीकरण गरिन्छ। हाल यस्ता करदाताको संख्या ५८५ रहेको छ र उनीहरूको कर प्रशासन ठूला करदाता कार्यालयले गर्दै आएको छ।

आर्थिक वर्ष २०८१/८२ मा ठूला करदाताबाट २ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। यस आधारमा चालु वर्षको संकलन अघिल्लो वर्षको तुलनामा ३.७९ प्रतिशतले बढी हो।

समग्र राजस्व संकलन गत आर्थिक वर्षमा ५ प्रतिशतले बढे पनि ठूला करदाताबाट उठ्ने राजस्व वृद्धिदर भने न्यून देखिएको छ। कर अधिकारीहरूका अनुसार ब्याज आम्दानीमा आएको कमी, आयकर संकलनमा देखिएको गिरावट तथा केही क्षेत्रको कारोबारमा आएको सुस्तताले राजस्व प्रभावित भएको हो।

विशेषगरी केही नियामक निकायको आम्दानीमा आएको कमी र दूरसञ्चार क्षेत्रको प्रभावले ठूला करदाताबाट उठ्ने राजस्वमा असर परेको अधिकारीहरूको भनाइ छ।

आयकर संकलन लक्ष्यभन्दा २२ प्रतिशत कम

ठूला करदाता कार्यालयबाट उठ्ने राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा आयकरको रहेको छ। गत आर्थिक वर्षमा आयकर शीर्षकबाट १ खर्ब ४४ अर्ब ९० करोड ९० लाख रुपैयाँ संकलन भएको छ।

सरकारले ठूला करदाता कार्यालयबाट १ खर्ब ८७ अर्ब रुपैयाँ आयकर उठाउने लक्ष्य राखेको थियो। तर संकलन लक्ष्यको ७७.३९ प्रतिशतमा सीमित भएको छ।

मूल्य अभिवृद्धि करतर्फ भने ६४ अर्ब ३४ करोड ८६ लाख रुपैयाँ संकलन भएको छ। यो लक्ष्यको ९२.३५ प्रतिशत हो।

घरभाडा आयकरबाट ४१ करोड ७७ लाख रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ७८.७४ प्रतिशत हो।

ब्याज आम्दानीमा लाग्ने कर भने सबैभन्दा कमजोर देखिएको छ। यस शीर्षकमा ४१ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ उठाउने लक्ष्य रहेकामा २० अर्ब ७५ करोड ३३ लाख रुपैयाँ मात्र संकलन भएको छ। यो लक्ष्यको ५०.१९ प्रतिशत हो।

अन्तःशुल्क आन्तरिकतर्फ २७ करोड ७७ लाख रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको १६२.९० प्रतिशत हो। शिक्षाकरतर्फ ३९ करोड ३४ लाख रुपैयाँ अर्थात् ८४.४१ प्रतिशत लक्ष्य पूरा भएको छ। अन्य शीर्षकबाट १२ करोड ९ लाख रुपैयाँ राजस्व उठेको छ।

आठ वर्षमा ठूला करदाताको राजस्व दोब्बरभन्दा बढी

पछिल्लो आठ वर्षमा ठूला करदाता कार्यालयबाट उठ्ने राजस्व निरन्तर बढ्दै गएको देखिन्छ।

  • आर्थिक वर्ष २०७५/७६: १ खर्ब ६२ अर्ब रुपैयाँ
  • आर्थिक वर्ष २०७६/७७: १ खर्ब ८४ अर्ब रुपैयाँ
  • आर्थिक वर्ष २०७७/७८: १ खर्ब ६९ अर्ब रुपैयाँ
  • आर्थिक वर्ष २०७८/७९: १ खर्ब ८३ अर्ब रुपैयाँ
  • आर्थिक वर्ष २०७९/८०: १ खर्ब ८५ अर्ब रुपैयाँ
  • आर्थिक वर्ष २०८०/८१: २ खर्ब १७ अर्ब रुपैयाँ
  • आर्थिक वर्ष २०८१/८२: २ खर्ब ३७ अर्ब रुपैयाँ
  • आर्थिक वर्ष २०८२/८३: २ खर्ब ४६ अर्ब रुपैयाँ

असार महिनामा मात्रै ठूला करदाता कार्यालयले ३९ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो पनि मासिक लक्ष्यको करिब ८१ प्रतिशत हो। कार्यालयले असार महिनाका लागि ४८ अर्ब ३७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो।

प्रतिक्रिया दिनुहोस्