बागमतीमा ‘हेलो सीएम’ कक्ष स्थापना हुने, सात दिनभित्र गुनासो सम्बोधन गर्ने लक्ष्य

काठमाडौं, ३ असार । बागमती प्रदेश सरकारले प्रदेशवासीका गुनासा, उजुरी र समस्या छिटोछरितो रूपमा सम्बोधन गर्न ‘हेलो सीएम’ कक्ष स्थापना गर्ने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अत्याधुनिक प्रविधिसहित ‘हेलो सीएम’ कक्ष स्थापना गरी सञ्चालन गरिनेछ । उक्त प्रणालीमार्फत प्राप्त हुने नागरिकका गुनासा तथा उजुरी सात दिनभित्र फर्छ्योट गर्ने लक्ष्य सरकारले लिएको छ ।

मन्त्री तामाङले प्रदेश सरकारद्वारा सञ्चालित सबै आयोजना तथा कार्यक्रमको भौतिक र वित्तीय प्रगतिलाई निरन्तर अनुगमन गर्न अनलाइन प्रोजेक्ट मनिटरिङ सिस्टम विकास तथा कार्यान्वयनका लागि पनि बजेट व्यवस्था गरिएको जानकारी दिए ।

त्यसैगरी, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र स्थापना गरी प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई प्रदान गरिने सबै प्रकारका तालिम एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने तयारी गरिएको उनले बताए ।

प्रदेशमा पहिचान भएका तर अझै तर्जुमा हुन बाँकी रहेका कानुनलाई प्राथमिकताका साथ तयार पार्दै आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन तर्जुमा वर्ष’ का रूपमा मनाउने सरकारको योजना रहेको मन्त्री तामाङले उल्लेख गरे । साथै प्रदेश सरकारले निर्माण गरेका नीति तथा कानुनको कार्यान्वयन अवस्थाको अध्ययन र विश्लेषणका लागि पनि बजेट विनियोजन गरिएको उनले बताए ।

संघ, प्रदेश र स्थानीय तहबीच समन्वयलाई थप प्रभावकारी बनाउन प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

यस्तै, मानव विकास सूचकाङ्कमा पछाडि परेका स्थानीय तहलाई लक्षित गर्दै ‘पालिका मानव विकास तथा आर्थिक रूपान्तरण विशेष कार्यक्रम’ सञ्चालनका लागि चार करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्