बुटवलमा सुरु भयो युवा नेतृत्वको पर्यावरणीय प्रतियोगिता ‘इन्भाइरोनमेन्ट प्रिमियर लिग २०२६’

काठमाडौं, ३ असार ।  मैनादेवी फाउण्डेशनको आयोजनामा नेपालकै अनौठो युवा नेतृत्वको पर्यावरणीय प्रतियोगिता ‘इन्भाइरोनमेन्ट प्रिमियर लिग (इपीएल) बुटवल २०२६’ सुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेयले एक कार्यक्रमबीच प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका हुन् ।

उद्घाटनपछि बुटवलका १५ शैक्षिक संस्थाका विद्यार्थीहरूले उपमहानगरपालिका परिसर तथा आसपासका क्षेत्रमा र्‍यालीसहित प्रतीकात्मक सरसफाइ अभियान सञ्चालन गरेका थिए । अभियानमा दिप बोर्डिङ, न्यू होराइजन, मणिमुकुन्द, नयाँगाउँ, कालिका, कान्ति, नवीन, स्कलर्स होम, एभरेस्ट कलेज, त्रिभुवन, नहरपुर, अक्सफोर्ड र इडेनलगायतका संस्थाका विद्यार्थी सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेयले फोहोर व्यवस्थापन र वातावरण संरक्षणप्रति उपमहानगरपालिकाको प्रतिबद्धता दोहोर्‍याउँदै पर्यावरणीय चुनौती समाधानका लागि कलेज तथा युवाहरूले देखाएको सक्रिय नेतृत्वको प्रशंसा गरे ।

मैनादेवी फाउण्डेशनका अभियान समन्वयकर्ता सरोज घिमिरेले यो अभियान केवल सरसफाइ कार्यक्रम नभई युवाहरूमा वातावरण संरक्षण, सिर्जनात्मक सोच र व्यक्तिगत जिम्मेवारीको भावना विकास गर्ने दीर्घकालीन अभियान भएको बताए ।

उनका अनुसार प्रतियोगिता ४६ दिनसम्म सञ्चालन हुनेछ । यस अवधिमा सहभागी १५ कलेजले विभिन्न साप्ताहिक पर्यावरणीय गतिविधिमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई पुरस्कृत गरिनेछ । पहिलो हुने संस्थाले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार इपीएल बुटवल २०२६ ले युवालाई वातावरण संरक्षणको अभियानमा प्रत्यक्ष सहभागी गराउँदै दिगो र स्वच्छ शहर निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्