विदेश जाने युवाको संख्या बढे पनि अहिले चुपचाप छन् : अध्यक्ष ओली

काठमाडौं, ३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय विदेश जाने युवाको संख्या बढे पनि यस विषयमा पहिले जस्तो बहस नभएको टिप्पणी गरेका छन् ।

आइतबार एमालेका सांसदहरूका लागि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अघिल्लो वर्ष विदेश जाने युवाको विषयलाई लिएर ठूलो हल्ला भए पनि अहिले संख्या बढ्दा पनि त्यसबारे खासै चर्चा नभएको बताए ।

“विदेश मान्छे पठाइयो, विदेश गए भनेर उधुम हल्ला थियो, पोहोर साल यतिबेला खपिनसक्नु हल्ला थियो,” ओलीले भने, “पोहोर साल यतिबेला भन्दा अहिले यतिबेला संख्या बढी गएको छ बाहिर । चुपचाप छ ।”

उनले अहिले विदेश जानुलाई युवाहरूको अधिकारका रूपमा व्याख्या गर्ने गरिएको बताए । तर, विषयलाई आवश्यकता अनुसार फरक ढंगले प्रस्तुत गर्ने प्रवृत्ति रहेको भन्दै उनले आलोचना गरे ।

“पोहोर स्वाभाविक थिएन, अहिले स्वाभाविक भन्ने गरिएको छ । कुरो र कुलो जता पनि जान्छ भनेजस्तै उनीहरूले कुरा बङ्ग्याउँछन्,” ओलीले भने, “जनताको हितभन्दा आफ्नो संकीर्ण हितका लागि विषयलाई प्रयोग गर्ने काम भइरहेको छ ।”

अध्यक्ष ओलीले गलत ढंगले प्रस्तुत गरिएका विषयलाई सच्याउने र सही कुरा जनतासमक्ष पुर्‍याउने माध्यम संसद् भएको बताए ।

उनले सरकार निर्माणका लागि आवश्यक संख्या नभए पनि जनताको हितका विषय उठाउने महत्वपूर्ण थलो संसद् नै रहेको उल्लेख गरे । संसद्मार्फत जनताका समस्या, आवश्यकता र सरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्