विश्वकप फाइनलमा ला लिगाको दबदबा, स्पेन र अर्जेन्टिनाका २४ खेलाडी स्पेनिस लिगबाट

काठमाडौं, ३ असार । फिफा विश्वकप २०२६ को फाइनलमा आइतबार राति स्पेन र अर्जेन्टिना आमनेसामने हुँदैछन्। उपाधि भिडन्तअघि स्पेनिस शीर्ष फुटबल लिग ला लिगा का खेलाडीहरूको उल्लेखनीय उपस्थितिले चर्चा पाएको छ।

फाइनल खेल्ने दुवै टोलीका कुल ५/२ खेलाडीमध्ये २४ जना ला लिगासँग आबद्ध छन्। यसमा स्पेनका १८ र अर्जेन्टिनाका ६ खेलाडी रहेका छन्। त्यस्तै, इंग्लिस प्रिमियर लिगबाट १३ खेलाडी फाइनल खेल्दैछन्।

ला लिगाका अध्यक्ष हाभियर टेबासले फाइनलमा स्पेनिस लिगका खेलाडीको वर्चस्व कुनै संयोग नभई स्पेनको बलियो फुटबल संरचना र दीर्घकालीन खेलाडी उत्पादन प्रणालीको परिणाम भएको बताएका छन्।

उनका अनुसार स्पेनमा प्राविधिक रूपमा दक्ष, प्रतिस्पर्धी र शारीरिक रूपमा सक्षम खेलाडी उत्पादन हुने वातावरण छ। बार्सिलोनाको ला मासिया र रियल म्याड्रिडको ला फाब्रिका जस्ता प्रतिष्ठित एकेडेमी मात्र नभई साना क्लबहरूले पनि खेलाडी विकासमा निरन्तर लगानी गरिरहेका छन्।

टेबासले स्पेनिस क्लबहरूले दशकौँदेखि अर्जेन्टिनाका प्रतिभावान खेलाडीलाई पहिचान गरी विश्वस्तरीय बनाउने काम गरेको उल्लेख गरे। उनले १३ वर्षको उमेरमा स्पेन पुगेका लियोनेल मेस्सीलाई यसको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गरे।

उनले इंग्लिस प्रिमियर लिगले महँगा खेलाडी खरिदमा जोड दिँदा ला लिगाले आफ्नै एकेडेमीबाट खेलाडी उत्पादनलाई प्राथमिकता दिएको बताए। कडा आर्थिक अनुशासनका कारण क्लबहरूले अनियन्त्रित खर्च गर्न नपाउने व्यवस्था रहेको उनको भनाइ छ।

टेबासका अनुसार सन् २०२१ को सिभिसी सम्झौताबाट प्राप्त करिब २.४ अर्ब अमेरिकी डलरमध्ये ७० प्रतिशत रकम रंगशाला पूर्वाधार र प्रविधि विकासमा लगानी गरिएको छ। उनले सार्वजनिक बजेट रंगशालाभन्दा सडक, अस्पताल र विद्यालय निर्माणमा खर्च गर्नुपर्ने धारणा पनि व्यक्त गरे।

सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने तयारी भइरहेका बेला टेबासले फाइनल खेल स्पेनमै हुनुपर्ने अडान दोहोर्याएका छन्।

यस्तै, उनले विश्वकपमा सहभागी टोलीको संख्या थप बढाउने फिफाको सम्भावित योजनाको आलोचना गर्दै यस्तो निर्णयले घरेलु लिगहरूको प्रतिस्पर्धात्मक संरचनामा नकारात्मक असर पर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्