२४ घण्टामा दाङको अमरपुरमा सबैभन्दा बढी वर्षा, सिन्धुपाल्चोकमा १०३ मिमी पानी

काठमाडौं, ३ असार । पछिल्लो २४ घण्टामा देशभर सबैभन्दा बढी वर्षा दाङको अमरपुर क्षेत्रमा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अमरपुरमा १०७ मिलिमिटर वर्षा भएको छ।

विभागका मौसमविद् डेविड ढकालका अनुसार सोही अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर तथा पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

मनसुनी प्रणाली सक्रिय रहेकाले देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ। निरन्तर वर्षासँगै नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन विभागले आग्रह गरेको छ।

विभागले मौसमको अद्यावधिक जानकारीका आधारमा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्