नेपाल टेलिकमको नयाँ सेवा : हराएको वा बिग्रेको सिम अब अनलाइन आवेदनबाटै पाइने

काठमाडौं, १ साउन । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ फिजिकल सिम वा ई–सिम अनलाइनमार्फत प्राप्त गर्न सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले यो सेवा साउन १, २०८३ देखि लागू गरेको जनाएको छ।

नेपाल टेलिकमका अनुसार सेवाग्राहीले हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिन esim.ntc.net.np पोर्टलमा लगइन गरी ‘Apply for Lost/Damaged SIM’ विकल्पमार्फत आवश्यक विवरण भरेर आवेदन दिन सक्नेछन्।

आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा आफूले तोकेको प्रतिनिधिमार्फत टेलिकमको सेवा केन्द्रबाट नयाँ सिम प्राप्त गर्न सक्नेछन्। नयाँ सिम लिनका लागि ५० रुपैयाँ शुल्क काउन्टरमै बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

यदि ग्राहक स्वयं उपस्थित हुन नसकेमा अनलाइन आवेदनमै प्रतिनिधिको नाम उल्लेख गर्नुपर्नेछ। सिम लिन आउने प्रतिनिधिले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात पनि पेश गर्नुपर्ने नेपाल टेलिकमले जनाएको छ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्रतिनिधिमार्फत सिम वितरणको व्यवस्था गरिएको हो।

हाल esim.ntc.net.np पोर्टलमार्फत नयाँ प्रिपेड ई–सिम प्राप्त गर्ने, फिजिकल सिमलाई ई–सिममा रूपान्तरण गर्ने, नयाँ फिजिकल सिम लिने तथा ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्ने सुविधा उपलब्ध छ। अब यही पोर्टलमा हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम प्राप्त गर्ने सुविधा पनि थपिएको नेपाल टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्