चितवनमा ८९३ जनामा देखियो स्क्रब टाइफस संक्रमण, एक जनाको मृत्यु

काठमाडौं, १ साउन ।  चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा जिल्लाका अस्पतालमा आएका ११ हजार ४१९ जनाको स्क्रब टाइफस परीक्षण गर्दा ८९३ जनामा संक्रमण देखिएको हो।

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितमध्ये ६२१ जना चितवन जिल्लाकै बासिन्दा रहेका छन्। जिल्लाभित्र सबैभन्दा बढी संक्रमण रत्ननगर नगरपालिकामा देखिएको छ। त्यहाँ २४६ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, खैरहनी नगरपालिकाका ११७ जना, भरतपुर महानगरपालिकाका ९० जना, राप्ती नगरपालिकाका ८२ जना, कालिका नगरपालिकाका ६९ जना, माडी नगरपालिकाका सात जना र इच्छाकामना गाउँपालिकाका १० जनामा स्क्रब टाइफस संक्रमण देखिएको केसीले जानकारी दिए।

आर्थिक वर्ष २०८१/८२ मा सात हजार ९५ जनाको परीक्षण गर्दा एक हजार ५५ जनामा संक्रमण पुष्टि भएको थियो। चालु आर्थिक वर्षमा स्क्रब टाइफसका कारण एक जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

स्क्रब टाइफस मुसाको कान वा अन्य जीवजन्तुमा पाइने संक्रमित किर्नाले टोकेपछि मानिसमा सर्ने रोग हो। यस रोगका कारण उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या देखिने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र टोकेको स्थानमा कालो दाग देखिन सक्ने चिकित्सकहरू बताउँछन्।

किट नियन्त्रक केसीले रोगबाट बच्न खेत, झाडी तथा वन क्षेत्रमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता प्रयोग गर्न, शरीरको खुला भागमा कीटनाशक मलम लगाउन, घर वरपर घाँस अनावश्यक रूपमा बढ्न नदिन तथा वातावरण सफा राख्न सुझाव दिएका छन्। उनले मुसा नियन्त्रणका लागि अन्न भण्डारणमा विशेष ध्यान दिन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्