पिएसजीको जित कायमै

पेरिस (एजेन्सी) । फ्रान्सेली लिग १ अन्तर्गत अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (एसजी) ले नान्टेसलाई ४–१ ले पराजित गरेको छ । जितमा स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गरेका थिए ।

काभानीले खेलको ३८ औं मिनेटमा गोल गर्दै पिएसजीलाई खेलमा अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४२ औं मिनेटमा एन्जल डि मारियाले गरेको क्रस बल सिधै गोल हुँदै पिएसजीले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।

त्यस्तै नान्टेसका लागि प्रिजुस नाकुल्माले खेलको ६० औं मिनेटमा गोल गर्दै भ्रमणीय टोलीका लागि एक गोल फर्काएका थिए । तर जाभियर पास्टोरे र काभानीले पुनःगोल गर्दै पिएसजीका लागि जित सुनिश्चित गरेका थिए ।

यस जितसँगै पिएसजीले लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । अहिले पिएसजीको १३ खेलमा ३५ अंक रहेको छ । दोस्रोमा रहेको मोनाकोभन्दा अपराजित पिएसजी ६ अंकले अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्