एक दिनमै फेरि बन्द भयो तातोपानी नाका, वर्षाले सडक बगाएपछि आवतजावत ठप्प

काठमाडौं, १ साउन । नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका एक दिनमै पुनः बन्द भएको छ। बिहीबार साँझ तीन दिनपछि एकतर्फी रूपमा सञ्चालनमा आएको नाका शुक्रबार बिहानदेखि फेरि ठप्प भएको हो।

बिहीबार रातभर परेको अविरल वर्षापछि इको क्षेत्रमा माथिबाट आएको खोल्साको भेलले सडक क्षतिग्रस्त बनाएपछि सीमा नाकाको आवतजावत पूर्ण रूपमा रोकिएको हो।

स्थानीय प्रशासनका अनुसार वर्षाको पानी सडकमा पसेपछि सडक भासिएको र यातायात सञ्चालन गर्न नसकिने अवस्था बनेको छ।

सडक डिभिजन कार्यालय चरिकोटले मर्मतपछि बिहीबार साँझदेखि नाका एकतर्फी रूपमा सञ्चालनमा ल्याएको थियो। सडक खुलेपछि ३५ वटा कन्टेनर सीमा पार गर्न सफल भएका थिए। तर इको क्षेत्रमा पुनः सडक भासिएपछि नाका बन्द भएको हो।

यस वर्ष मनसुन ढिलो सुरु भएका कारण असार २७ गतेसम्म कोदारी सडक नियमित सञ्चालनमा थियो। पछिल्ला दिनमा परेको लगातार वर्षाका कारण लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै इको क्षेत्रमा सडक भासिने समस्या दोहोरिएको छ।

हरेक वर्ष जोखिमयुक्त मानिँदै आएको इको क्षेत्रमा सडक भासिएर भोटेकोशी नदीतर्फ खस्ने समस्या देखिँदै आएको छ।

सडक डिभिजन कार्यालय चरिकोटका फिल्ड इन्जिनियर सुरेन्द्र सिंहका अनुसार इको क्षेत्रमा माथिबाट आउने खोल्साको पानी र तलबाट भोटेकोशी नदीको कटानका कारण वर्षा हुनासाथ सडकमा समस्या देखिने गरेको छ।

इको पहिरो नियन्त्रणका लागि चीन सरकारको सहयोगमा दीर्घकालीन योजना अघि बढाइएको भए पनि चालु मनसुन अवधिमा निर्माण कार्य सुरु नहुने भएको छ। नेपाल र चीन सरकारबीच दुई चरणको सम्झौता सम्पन्न भइसकेको र अब कार्यान्वयन सम्झौता मात्र बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

बर्खा सकिएपछि चिनियाँ निर्माण कम्पनी तातोपानी आएर पहिरो नियन्त्रणको काम सुरु गर्ने तयारीमा रहेको छ।

नाका बन्द हुँदा खासाबाट नेपालतर्फ ल्याइँदै गरेका लसुन, ओखर, फलफूल, तयारी पोसाक तथा विभिन्न जलविद्युत् आयोजनाका उपकरण बोकेका कन्टेनर रोकिएका छन्। सडक अवरुद्ध हुँदा ढुवानी व्यवसायीले थप लागत व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ।

यसैबीच, वर्षाको भेलले उर्लिएको भोटेकोशी नदीले तातोपानी भन्सार क्षेत्रसमेत कटान गर्न थालेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्