स्थानीय तहका कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण माग

काठमाडौं, १ साउन । सरकारले स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरणमार्फत सञ्चालन भइरहेका कृषि तथा पशुपन्छी विकास कार्यक्रमको प्रगति विवरण माग गरेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकालाई परिपत्र गर्दै आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन भएका कृषि तथा पशुपन्छीसम्बन्धी कार्यक्रमको प्रगति विवरण पठाउन निर्देशन दिएको हो।

कृषि, वन तथा वातावरण मन्त्रालयको समन्वयमा पठाइएको परिपत्रमा कृषिजन्य उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सञ्चालन गरिएका योजनाको प्रभावकारिता, कार्यान्वयनको अवस्था र उपलब्धिको मूल्याङ्कन गर्न प्रतिवेदन माग गरिएको उल्लेख छ।

मन्त्रालयका अनुसार स्थानीय तहमा हस्तान्तरण भएका कार्यक्रमलाई व्यवस्थित, पारदर्शी, प्रभावकारी र नतिजामुखी बनाउन ‘सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ तथा ‘पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ अनुसार प्रगति विवरण बुझाउनुपर्नेछ।

परिपत्रअनुसार स्थानीय तहले त्रैमासिक र वार्षिक रूपमा कार्यक्रमको भौतिक तथा वित्तीय प्रगतिको विस्तृत विवरण तयार गरी केन्द्रमा पठाउनुपर्नेछ।

मन्त्रालयले प्रगति प्रतिवेदनका लागि निश्चित ढाँचासमेत उपलब्ध गराएको छ। उक्त ढाँचामा कार्यक्रमको नाम, वार्षिक विनियोजित बजेट, भौतिक लक्ष्य, हालसम्मको प्रगति, देखिएका समस्या तथा समाधानका उपायहरू उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारले स्थानीय तहमा सञ्चालन भएका कृषि तथा पशुपन्छी विकास कार्यक्रमको प्रभावकारिता बढाउन तथा लगानीको उपलब्धि मूल्याङ्कन गर्न प्रगति विवरण माग गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्