सरकार र मिटरब्याज पीडितबीच निर्णायक वार्ता, आजै लिखित सम्झौताको तयारी
काठमाडौं, १ साउन । सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच समस्याको समाधानका लागि अन्तिम चरणको निर्णायक वार्ता सुरु भएको छ। वार्ता सम्पन्न भएपछि दुवै पक्षबीच लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ।
सिंहदरबारमा जारी वार्तामा सरकारी टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन्। सरकारी टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य रहेका छन्।
मिटरब्याज पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी सदस्य रहेका छन्।
यसअघि बिहीबार पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै पक्षबीच लामो छलफल भएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार सो छलफलमा भएका सहमतिका आधारमा शुक्रबार अन्तिम सम्झौताको तयारी गरिएको हो।
सरकार र मिटरब्याज पीडितबीच हुने सहमतिले लामो समयदेखि जारी आन्दोलन र पीडितका माग सम्बोधन गर्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्