व्यवसायी भट्ट र अग्रवाललाई विभिन्न मुद्दामा धरौटीमा छाड्न आदेश
काठमाडौं, १ साउन । जिल्ला अदालत काठमाडौंले व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई विभिन्न मुद्दामा धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
अदालतले बीमा ऐनअन्तर्गतको कसुरमा सुलभ अग्रवालसँग २ करोड रुपैयाँ र दीपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।
त्यस्तै, धितोपत्रसम्बन्धी ऐनअन्तर्गतको अर्को मुद्दामा अग्रवालसँग २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ।
यसअघि विशेष अदालतले धितोपत्रसम्बन्धी अर्को मुद्दामा पनि अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ र भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गरेको थियो।
तर उनीहरू दुवैजना सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतको आदेशअनुसार थुनामै छन्। अर्को मुद्दामा थुनामा रहेका कारण बीमा तथा धितोपत्रसम्बन्धी मुद्दामा तोकिएको धरौटी बुझाए पनि उनीहरू तत्काल थुनामुक्त हुन पाउने छैनन्।
अदालतका आदेशअनुसार उनीहरूविरुद्धका विभिन्न मुद्दाको कानुनी प्रक्रिया भने अघि बढ्नेछ।













प्रतिक्रिया दिनुहोस्