बर्डफ्लु नियन्त्रणपछि सदर चिडियाखाना आजदेखि पुनः सञ्चालनमा
काठमाडौं, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ। पक्षीमा बर्डफ्लु सङ्क्रमण देखिएपछि गत असार ५ गतेदेखि बन्द गरिएको चिडियाखाना सङ्क्रमण नियन्त्रणपछि पुनः सञ्चालनमा ल्याइएको हो।
काग, गिद्ध, हाँसलगायत पक्षीमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लु) सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना बन्द गरिएको थियो। सङ्क्रमित पक्षीको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापन पूरा गरेपछि गरिएको वातावरणीय नमुना परीक्षणमा बर्डफ्लु भाइरस नदेखिएपछि चिडियाखाना खोल्ने निर्णय गरिएको हो।
चिडियाखाना प्रशासनका अनुसार बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो।
चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार अब चिडियाखाना बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म अवलोकनका लागि खुला रहनेछ। आगन्तुकले भने बेलुका ५ बजेसम्म चिडियाखानाबाट बाहिरिसक्नुपर्नेछ।
चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। यसअघि सङ्क्रमित देखिएका खोरहरू रातो रिबनले घेरिएको जनाउँदै ती क्षेत्रमा अनावश्यक रूपमा नबस्न अनुरोध गरिएको छ।
व्यवस्थापनले आगन्तुकलाई खुला स्थानमा आफूसँग ल्याएका खानेकुरा नखान, प्रयोगपछि फोहर तोकिएको स्थानमा फाल्न र अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्