सैन्य तनावबीच पनि अमेरिका–इरान वार्ता जारी, ह्वाइट हाउसको दाबी
काठमाडौं, १ साउन । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच पनि कूटनीतिक संवाद जारी रहेको ह्वाइट हाउसले जनाएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरान अझै पनि अमेरिकी राष्ट्रपतिसँग सम्झौता गर्न इच्छुक रहेको संकेत दिएको बताइन्। उनका अनुसार दुवै पक्षबीच संवाद भइरहेको भए पनि अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा चासोमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।
यसअघि बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ डिसेम्बरदेखि इरानको हिरासतमा रहेका एक अमेरिकी नागरिकलाई रिहा गरेकोमा इरानलाई धन्यवाद दिएका थिए। उक्त रिहाइलाई दुई देशबीच कूटनीतिक सम्बन्ध सुधारको सम्भावित संकेतका रूपमा हेरिएको छ।
यता, वार्ता जारी रहे पनि सैन्य गतिविधि भने रोकिएको छैन। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानी सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले बिहीबार स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि नयाँ चरणको हवाई आक्रमण सुरु गरिएको छ।
सेन्टकमका अनुसार यो इरानमाथि अमेरिकाले लगातार छैटौँ रात सञ्चालन गरेको हवाई आक्रमण हो, जसले दुई देशबीचको तनाव अझै उच्च तहमा रहेको संकेत गरेको छ।













प्रतिक्रिया दिनुहोस्