आजदेखि ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट लागू
काठमाडौं, १ साउन । नेपाल विद्युत् प्राधिकरणले आजदेखि मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। नयाँ व्यवस्था कार्यान्वयनका लागि प्राधिकरणले आफ्नो बिलिङ प्रणाली अद्यावधिक गरिसकेको जनाएको छ।
यो व्यवस्था अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार लागू गरिएको हो।
नयाँ व्यवस्थाअनुसार पहिलो ५० युनिटसम्मको विद्युत् महसुलमा भ्याट लाग्ने छैन। तर, ५१ युनिट वा सोभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकले ५० युनिटभन्दा माथिको विद्युत् महसुलमा ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ।
यसअनुसार मासिक ५० युनिट वा त्यसभन्दा कम विद्युत् खपत गर्ने घरायसी ग्राहक अतिरिक्त भ्याटको दायरामा पर्ने छैनन् भने ५० युनिटभन्दा बढी खपत गर्ने उपभोक्ताको बिलमा नयाँ कर लागू हुनेछ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभर ५० युनिटसम्म विद्युत् खपत गर्ने घरायसी ग्राहकको संख्या ३० लाखभन्दा बढी रहेको छ।













प्रतिक्रिया दिनुहोस्