विश्वकप फाइनलमा मेसी र यमालको विशेष संयोग, १९ वर्षअघिको तस्बिर फेरि चर्चामा
काठमाडौं, ३२ असार । विश्वकप फुटबल २०२६ को फाइनलमा अर्जेन्टिना र स्पेन आमनेसामने हुँदै गर्दा दुई टोलीका स्टार खेलाडी लियोनल मेसी र लामिन यमालसँग जोडिएको १९ वर्षअघिको एउटा तस्बिर फेरि चर्चामा आएको छ।
सन् २००७ मा बार्सिलोना फाउन्डेसन र युनिसेफले आयोजना गरेको एक परोपकारी तस्बिर कार्यक्रमका क्रममा तत्कालीन २० वर्षीय मेसीले तीन महिनाका शिशु यमाललाई बाथटबमा नुहाइदिएको तस्बिर खिचिएको थियो। वर्षौंसम्म चर्चाबाहिर रहेको उक्त तस्बिर यमालका बुबाले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विश्वभर भाइरल बनेको हो।
फुटबल समर्थकहरूले उक्त तस्बिरलाई मेसीले भविष्यका स्टारलाई ‘आशीर्वाद’ दिएको संयोगका रूपमा चर्चा गरेका छन्। अहिले तिनै यमाल स्पेनबाट खेल्दै विश्वकपको फाइनलमा मेसी नेतृत्वको अर्जेन्टिनालाई चुनौती दिन तयार छन्।
विश्वकपमा पहिलो पटक खेलिरहेका १८ वर्षीय यमाललाई विश्व फुटबलका सबैभन्दा प्रतिभाशाली युवा खेलाडीमध्ये एक मानिन्छ। उनी बार्सिलोनाको इतिहासमै सबैभन्दा कम उमेरमा पहिलो टोलीबाट खेल्ने खेलाडी बनेका थिए भने स्पेनका लागि पनि कम उमेरमै राष्ट्रिय टोलीबाट गोल गर्ने कीर्तिमान बनाएका छन्।
सन् २०२४ को युरोपेली च्याम्पियनसिपमा स्पेनलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका यमालले उत्कृष्ट युवा खेलाडीको सम्मान पनि जितेका थिए। बार्सिलोनाबाट १०० भन्दा बढी आधिकारिक खेल खेलिसकेका उनी हाल विश्व फुटबलका उदाउँदा ताराका रूपमा स्थापित भएका छन्।
मेसीले पनि विभिन्न अवसरमा यमालको खुलेर प्रशंसा गरेका छन्। उनले यमालले आफ्ना सुरुआती दिनहरूको सम्झना दिलाउने खेलाडी भएको बताएका छन्। यमालले भने इतिहासकै महान् खेलाडीसँग तुलना हुनु गर्वको विषय भए पनि आफूले आफ्नै पहिचान बनाउन चाहेको प्रतिक्रिया दिएका छन्।
आइतबार हुने विश्वकप फाइनलमा एकातिर आफ्नो सम्भावित अन्तिम विश्वकप खेलिरहेका मेसी हुनेछन् भने अर्कोतर्फ पहिलो विश्वकपमै इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रने यमाल रहनेछन्। यही संयोगले फाइनल भिडन्तलाई थप आकर्षक बनाएको छ।














प्रतिक्रिया दिनुहोस्