कोशी सरकारबाट तत्काल मन्त्री फिर्ता नबोलाउने कांग्रेसको निर्णय
काठमाडौं, ३२ असार । नेपाली कांग्रेस कोशी प्रदेशले प्रदेश सरकारबाट तत्काल आफ्ना मन्त्रीहरू फिर्ता नबोलाउने निर्णय गरेको छ।
कांग्रेस कोशी प्रदेश कार्यदलको बिहीबार विराटनगरमा बसेको बैठकले तत्काल मन्त्री फिर्ता नबोलाउने, कानुनी परामर्श लिने र केन्द्रसँग समन्वय गरेर थप कदम चाल्ने निर्णय गरेको हो।
कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङका अनुसार थप निर्णय गर्ने जिम्मेवारी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई दिइएको छ।
कोशी प्रदेश सरकार अन्य प्रदेशको जस्तो संविधानको धारा १६८ को उपधारा (२) अनुसार नभई उपधारा (५) अनुसार गठन भएकाले यस विषयमा थप कानुनी परामर्श आवश्यक रहेको कांग्रेसले जनाएको छ।
संविधानको धारा १६८ (५) अनुसार प्रदेश सभामा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्य मुख्यमन्त्री बन्न सक्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार कांग्रेसको समर्थनमा नेकपा एमालेका हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेका छन्।
कांग्रेसले भने प्रदेश सरकारमा नेकपा एमालेसँग यसअघि भएको गठबन्धनलाई निरन्तरता नदिने तयारी गरेको छ। सोहीअनुसार कर्णालीलगायत केही प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिसकेका छन्।
कांग्रेसले सकेसम्म आफ्नै नेतृत्वमा प्रदेश सरकार बनाउने र नेतृत्व सम्भव नभए अन्य दलसँग गठबन्धन गर्ने रणनीति लिएको छ।
हाल कांग्रेस नेतृत्वमा सुदूरपश्चिम, गण्डकी, बागमती र मधेस प्रदेश सरकार रहेका छन्।













प्रतिक्रिया दिनुहोस्