टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुँदै

काठमाडौं, ३२ असार । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा यही जुलाई २५ मा जापानको राजधानी टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुने भएको छ।

‘प्रवासी सञ्चारमाध्यममार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा नेपाल पत्रकार महासंघका ११ वैदेशिक शाखा सहआयोजकका रूपमा सहभागी हुने भएका छन्।

सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित केन्द्रीय कार्यसमितिका ३३ जना पदाधिकारी तथा सदस्य, महासंघका वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि, जापानस्थित पत्रकार तथा विश्वका विभिन्न मुलुकमा क्रियाशील नेपाली पत्रकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठका अनुसार विश्वभर नेपाली समुदायको विस्तारसँगै प्रवासी पत्रकारिताको भूमिका पनि महत्वपूर्ण बन्दै गएको छ। विदेशमा रहेका नेपाली समुदायका गतिविधि, समस्या, उपलब्धि र सरोकारलाई मातृभूमिसम्म पुर्‍याउने जिम्मेवारी प्रवासी सञ्चारमाध्यमले निर्वाह गरिरहेको उनले बताए।

सम्मेलनमा प्रवासी सञ्चारमाध्यमले नेपालसँगको सम्बन्ध कायम राख्न खेलेको भूमिका, प्रवासी पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावना, नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र वैदेशिक शाखाबीचको सम्बन्ध, प्रवासी नेपाली समुदाय तथा सञ्चारमाध्यमबीचको सम्बन्ध, प्रविधिको प्रभाव र प्रेस स्वतन्त्रताका विषयमा छलफल हुने बताइएको छ।

नेपाल पत्रकार महासंघ जापान शाखाकी उपाध्यक्ष मनिषा चम्लागाईंका अनुसार सम्मेलनमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल तथा अन्तरक्रियामार्फत प्रवासी पत्रकारिताका विभिन्न पक्षमाथि गहन छलफल गरिनेछ।

महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले सम्मेलनले नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र वैदेशिक शाखाबीचको सम्बन्धलाई थप संस्थागत र प्रभावकारी बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीले प्रविधिको विकाससँगै नेपालभित्र र विदेशबाट गरिने पत्रकारिताबीचको दूरी घट्दै गएको बताए। उनले पत्रकारिता अहिले विश्वव्यापी अभ्यास बनिसकेको उल्लेख गर्दै प्रवासी पत्रकारिता नेपाली समुदायका लागि मात्र नभई नेपालको सन्दर्भमा समेत महत्वपूर्ण बन्दै गएको बताए।

नेपाल पत्रकार महासंघ जापान शाखाले विश्वभरका नेपाली पत्रकारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गर्न लागेको यो सम्मेलन प्रवासी पत्रकारिताको इतिहासमा महत्वपूर्ण उपलब्धि हुने जनाएको छ।

आयोजकका अनुसार सम्मेलनले विश्वभरका नेपाली सञ्चारकर्मीबीच सहकार्य विस्तार गर्नुका साथै प्रवासी पत्रकारिताको संस्थागत विकास, अन्तर्राष्ट्रिय समन्वय र व्यावसायिक क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्मेलनलाई सफल बनाउन जापानको फिनटेक कम्पनी डिजिटल वालेट कर्पोरेशनअन्तर्गत सञ्चालित स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट मुख्य कार्यक्रम साझेदार बनेका छन्। यस्तै, फ्रन्टअप ई–सिमसहित विभिन्न संस्था तथा प्रायोजकहरूले सहयोग गरिरहेका छन्।

आयोजकले सम्मेलन सफल बनाउन सहयोग गर्ने सबै संस्था, प्रायोजक तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै सार्वजनिक र निजी क्षेत्रको सहकार्यले प्रवासी पत्रकारितालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्