अन्तिम ६ मिनेटमा इंग्ल्यान्डको सपना चकनाचुर, अर्जेन्टिना फाइनलमा
काठमाडौं, ३२ असार । सन् १९९० र २०१८ को विश्वकप सेमिफाइनलझैँ यसपटक पनि इंग्ल्यान्ड फाइनलको संघारबाट निराश हुँदै बाहिरिएको छ। अन्तिम ६ मिनेट २४ सेकेन्डभित्र दुई गोल खाँदा अर्जेन्टिनासँग २–१ ले पराजित हुँदै इंग्ल्यान्ड विश्वकपबाट बाहिरिएको हो।
खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि टोली सन् १९६६ यता पहिलो पटक विश्वकप फाइनल पुग्ने अवस्थातर्फ अघि बढेको देखिएको थियो।
तर खेलको अन्तिम समयमा अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो। खेल सकिन पाँच मिनेट बाँकी रहँदा एन्जो फर्नान्डेजले डि–बक्स बाहिरबाट आकर्षक प्रहारमार्फत बराबरी गोल गरे। त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए।
अर्जेन्टिनाका दुवै गोलमा कप्तान लियोनेल मेस्सीले असिस्ट प्रदान गरेका थिए। जितसँगै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
इंग्ल्यान्डले अग्रता लिएपछि प्रशिक्षक थोमस टुचेलले टोलीलाई रक्षात्मक बनाएका थिए। एजरि कोन्सा, ड्यान बर्न र निको ओ’राइलीलाई मैदानमा उतारेर अग्रता जोगाउने प्रयास गरिए पनि त्यसले उल्टै नतिजा दियो। अग्रपंक्तिका मार्कस रासफोर्ड र आइभान टोनी भने इन्जुरी समयमा मात्रै मैदान प्रवेश गरेका थिए।
खेलपछि इंग्ल्यान्डका कप्तान ह्यारी केनले अग्रता लिएपछि टोलीले खेल जोगाउने रणनीतिमा केन्द्रित भएको स्वीकार गरे।
‘हामी १–० ले अगाडि भएपछि त्यसलाई जोगाउने प्रयास मात्रै गरिरहेका थियौं। तर यो स्तरमा त्यो पर्याप्त हुँदैन,’ केनले भने।
उनले टोली फाइनल पुग्न निकै नजिक पुगे पनि अन्तिम समयमा अवसर गुमाउँदा निराश भएको बताए।
‘यहाँसम्म आइपुग्न हामीले धेरै मेहनत गरेका थियौं। सबै खेलाडीले आफ्नो सम्पूर्ण शक्ति र समर्पण दिएका थिए। त्यसैले यो हार निकै पीडादायी छ,’ उनले भने।
केनका अनुसार खेलको सुरुआती चरणमा इंग्ल्यान्डले उच्च दबाब सिर्जना गर्दै अर्जेन्टिनालाई गल्ती गर्न बाध्य पारेको थियो। तर अग्रता लिएपछि खेलको लय परिवर्तन भयो र लगातारको अर्जेन्टिनी आक्रमण रोक्न नसक्दा टोलीले हार बेहोर्नुपर्यो।













प्रतिक्रिया दिनुहोस्