सरकारको १०० दिन सुशासनका दृष्टिले सकारात्मक : सांसद जगदीश खरेल
काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले वर्तमान सरकारको सुरुवाती १०० दिन सुशासनका दृष्टिले सकारात्मक रहेको टिप्पणी गरेका छन्।
संसद् बैठक आगामी साउन १४ गतेसम्मका लागि स्थगित भएको सन्दर्भमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद खरेलले सरकारको प्रारम्भिक कार्यकाललाई सकारात्मक रूपमा मूल्यांकन गरेका हुन्।
बजेट पारित भइसकेको र कानुन निर्माणका प्रक्रिया अघि बढिरहेको अवस्थामा सदन १४ दिनका लागि स्थगित हुनु उपयुक्त रहेको उनको भनाइ छ। उनले संसद् स्थगन अवधिलाई सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर जनताका समस्या, सुझाव र अपेक्षा बुझ्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।
सरकारको १०० दिने कार्यकालको समीक्षा गर्दै खरेलले छोटो अवधिमै ठूलो परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक नहुने धारणा राखे। उनले सरकारको गति र उपलब्धिबारे उठेका जनगुनासोलाई सम्मान गर्दै कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने बताए।
“कतिपय त्रुटि र कमजोरीलाई सुधार गर्दै सुशासनको यात्रालाई थप प्रभावकारी बनाउन सरकारलाई रचनात्मक दबाब दिइनेछ,” उनले भने।
सांसद खरेलले जनताको सुझाव र आलोचनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै आगामी दिनमा परिणाममुखी काममा जोड दिनुपर्ने बताए।













प्रतिक्रिया दिनुहोस्