मस्कटमा विद्युतीय राहदानी सेवा सञ्चालन, नेपाली दूतावासद्वारा नवीकरण गर्न आग्रह

काठमाडौं, ३१ असार । ओमानस्थित नेपाली राजदूतावासले मस्कटमा १३ जुलाई २०२६ देखि विद्युतीय (ई–पासपोर्ट) राहदानी सम्बन्धी सेवा पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ। दूतावासले बुधबार जारी गरेको सूचनामार्फत उक्त जानकारी दिएको हो।

दूतावासका अनुसार राहदानीको म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी रहेका नेपाली नागरिकले अनलाइन फारम भरेर अपोइन्टमेन्ट लिएर वा सिधै राजदूतावासमा उपस्थित भई राहदानी नवीकरण गर्न सक्नेछन्।

सेवाग्राहीको चाप र आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा सार्वजनिक बिदाका दिनसमेत राहदानी सम्बन्धी सेवा उपलब्ध गराइने दूतावासले जनाएको छ।

त्यसैगरी, फारम भर्न वा समय बुक गर्न कठिनाइ हुने सेवाग्राहीलाई दूतावासले स्वयं फारम भरिदिएर सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ। फारम भर्न नसकेको कारणले कुनै पनि सेवाग्राहीलाई फिर्ता नपठाइने पनि दूतावासले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्