उपत्यकाका प्रयोगविहीन तार साउन दोस्रो साताभित्र व्यवस्थापन गर्न सरकारको निर्देशन
काठमाडौं, ३१ असार । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभित्र व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको संयुक्त उपस्थितिमा बसेको बैठकले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूलाई समयसीमासहित एकीकृत कार्ययोजना बनाएर पहिलो चरणमा उपत्यकाका ६ वटा रुटमा तार व्यवस्थापन गर्न निर्देशन दिएको हो।
सरकारले पहिलो चरणमा त्रिपुरेश्वर–कालिमाटी–कलङ्की, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल सडकखण्डमा रहेका अव्यवस्थित र प्रयोगविहीन तार हटाउने जनाएको छ।
बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई नियामकीय नेतृत्व गर्ने, नेपाल विद्युत् प्राधिकरणले आवश्यक सहजीकरण गर्ने तथा सबै सेवा प्रदायकले आफ्ना तारमा अनिवार्य रूपमा पहिचान खुल्ने ट्याग राख्ने निर्णय पनि गरेको छ।
सञ्चारमन्त्री तिमिल्सिनाले अव्यवस्थित तार सबै सम्बन्धित निकायको साझा कमजोरीको परिणाम भएको उल्लेख गर्दै तत्काल देखिने गरी काम अघि बढाउन निर्देशन दिए। ऊर्जा मन्त्री श्रेष्ठले दीर्घकालीन समाधानका लागि सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
बैठकमा सेवा प्रदायकहरूले वर्षायाम, पोलमा रहेका तारको स्वामित्व पहिचान गर्न कठिनाइ तथा सडक क्षेत्रमा दिउँसो काम गर्न नपाउने अवस्थाका कारण व्यवस्थापनमा ढिलाइ भएको बताएका थिए। नेपाल टेलिकम र एनसेलले भने तार व्यवस्थापन तथा ट्यागिङको कामलाई तीव्र बनाउने प्रतिबद्धता जनाएका छन्।













प्रतिक्रिया दिनुहोस्