एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकको स्टाइपेन्ड एकरूपता माग गर्दै चिकित्सा शिक्षा आयोगमा धर्ना
काठमाडौं, ३१ असार । एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको स्टाइपेन्ड (निर्वाह भत्ता) मा एकरूपता कायम गर्न माग गर्दै पीडित चिकित्सकहरूले बुधबार चिकित्सा शिक्षा आयोगमा धर्ना दिएका छन्।
सरकारद्वारा गठित कार्यदलले इन्टर्न चिकित्सकहरूको स्टाइपेन्डमा एकरूपता ल्याउन प्रतिवेदन तयार गरी आवश्यक सिफारिस गरिसकेको भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै चिकित्सकहरूले दबाबमूलक कार्यक्रम गरेका हुन्।
एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियान नेपालका संयोजक डिल्ली हरिजनले चिकित्सा शिक्षा आयोगबाट हालसम्म कुनै ठोस निर्णय र कार्यान्वयन प्रक्रिया अघि नबढेको भन्दै शान्तिपूर्ण धर्ना आयोजना गरिएको जानकारी दिए।
उनका अनुसार देशभरका विभिन्न मेडिकल कलेजमा कार्यरत इन्टर्न चिकित्सकहरूले समान प्रकृतिको सेवा दिइरहेको भए पनि प्राप्त गर्ने स्टाइपेन्डमा ठूलो असमानता रहेको छ। यसले इन्टर्न चिकित्सकहरूमाथि अन्याय भएको अभियानको भनाइ छ।
यसैबीच, नेपाल चिकित्सक सङ्घले पनि इन्टर्न चिकित्सकहरूको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ। सङ्घले बुधबार विज्ञप्ति जारी गर्दै अत्यधिक तनाव र जिम्मेवारीका बीच अहोरात्र स्वास्थ्य सेवामा खटिने इन्टर्न चिकित्सकहरूलाई प्रदान गरिने भत्तामा एकरूपता नहुनु र वैज्ञानिक आधारमा वितरण नगरिनु अन्यायपूर्ण भएको जनाएको हो।
सङ्घका अनुसार इन्टर्न चिकित्सकहरूको स्टाइपेन्डमा एकरूपता कायम गर्न सरकारले कार्यदल गठन गरी प्रतिवेदन तयार गरिसकेको भए पनि हालसम्म औपचारिक निर्णय र कार्यान्वयन हुन नसक्नु दुःखद विषय हो।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा इन्टर्न चिकित्सकहरूले उठाएका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ।
सङ्घले देशभरका इन्टर्न चिकित्सकहरूको स्टाइपेन्डमा समानता कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै कार्यदलको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।













प्रतिक्रिया दिनुहोस्