तीन महिनाभित्र कानुनी सुधार गर्ने तयारीमा धितोपत्र बोर्ड : अध्यक्ष भट्ट

काठमाडौं, ३१ असार । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बोर्डले विभिन्न कानुनी सुधारका कामलाई तीव्रता दिँदै आगामी तीन महिनाभित्र आवश्यक नियम तथा कानुन निर्माण गर्ने तयारी गरेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित छलफलमा बोल्दै अध्यक्ष भट्टले लगानीकर्ताको आत्मविश्वास बढाउने योजनासहित बोर्डले काम गरिरहेको बताए।

विगतमा देखिएका कमजोरीलाई सुधार गर्दै प्रिआईपीओ र आईपीओ निष्कासन प्रक्रियामा उठ्ने गरेका प्रश्नहरूलाई सम्बोधन गर्ने तथा सुशासन कायम गर्न शून्य सहनशीलताको नीति अपनाउने उनको भनाइ थियो।

“हामीले तीन महिनाको समयमा नियम कानुन बनाउने भनेका छौँ। हाम्रो तर्फबाट गर्नुपर्ने काम पूरा गर्छौँ। बाँकी कतिपय विषय नेप्से, ब्रोकर र अर्थ मन्त्रालयलगायत निकायसँगको समन्वयमा अघि बढाउनुपर्ने हुन्छ,” उनले भने।

अध्यक्ष भट्टले लगानीकर्ता शिक्षालाई देशव्यापी बनाउने योजना रहेको पनि जानकारी दिए। लगानी बजार जोखिमसँग जोडिएको क्षेत्र भएकाले लगानीकर्तामा पर्याप्त ज्ञान र अनुभव आवश्यक रहेको उनले बताए।

“लगानीकर्ताको शिक्षालाई विविधिकरण गर्ने योजना छ। जोखिम लिनुपर्ने क्षेत्र भएकाले लगानीकर्तामा अनुभव भए मात्र लगानी गर्न सहज हुन्छ,” उनले भने।

धितोपत्र बोर्डलाई प्रविधिमैत्री बनाउने विषयमा भने तत्काल ठूलो लगानी गर्न कठिनाइ रहेको अध्यक्ष भट्टले बताए। बोर्डसँग आफ्नै भवन र जग्गा नभएकाले प्रविधि विस्तारमा चुनौती रहेको भन्दै आगामी आर्थिक वर्षमा भवन र जग्गा व्यवस्थापनका लागि काम अघि बढाउने जानकारी दिए।

लगानीकर्ताको आत्मविश्वास बढाउन बोर्डले काम सुरु गरिसकेको उल्लेख गर्दै उनले हालै लगानीकर्ताको एक समूहसँग सहमति गरिएको बताए। ब्रोकर तथा बोर्डको नियमन क्षेत्रभित्र रहेका निकायमा देखिएका कमजोरी सुधार गर्दै अनुगमन र नियमनलाई थप कडाइ गरिने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्