असार अन्तिम सातासम्म ५४.५२ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न
काठमाडौं, ३१ असार । यस वर्ष असार महिना सकिनै लाग्दा देशभर धान रोपाइँको गति सुस्त देखिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार अन्तिम सातासम्म देशभर कुल ५४.५२ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ।
नेपालमा यस वर्ष १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ। त्यसमध्ये हालसम्म ७ लाख ४६ हजार ९ सय ६० दशमलव ६३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको विभागले जनाएको छ।
गत वर्ष यही अवधिसम्म ५९.२८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति केही सुस्त देखिएको छ।
प्रदेशगत अवस्थाअनुसार सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ भने सबैभन्दा कम मधेश प्रदेशमा भएको छ।
सुदूरपश्चिम प्रदेशमा कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये १ लाख ३६ हजार ३२ हेक्टर अर्थात् ८७.८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यही अवधिमा उक्त प्रदेशमा ९३.१० प्रतिशत रोपाइँ भएको थियो।
यता मधेश प्रदेशमा भने रोपाइँ अझै सुस्त छ। कुल ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १ लाख २६ हजार ४ सय ३९ हेक्टरमा मात्रै रोपाइँ भएको छ। यो कुल क्षेत्रफलको ३२.८ प्रतिशत हो। गत वर्ष यही अवधिमा मधेशमा ३३.७८ प्रतिशत रोपाइँ भएको थियो।
यस वर्ष कोशी प्रदेशमा भने रोपाइँको अवस्था सुधारिएको छ। गत वर्षको तुलनामा रोपाइँ बढेको कोशी एक मात्र प्रदेश बनेको छ। कोशीमा कुल २ लाख ७६ हजार ३ सय ८७ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५१ हजार ६ सय १९ हेक्टरमा रोपाइँ भएको छ, जुन ५४.९ प्रतिशत हो। गत वर्ष असार २९ सम्म कोशीमा ४१.३२ प्रतिशत मात्रै रोपाइँ भएको थियो।
गण्डकी प्रदेशमा ९३ हजार ६ सय ६ हेक्टरमध्ये ६१ हजार ७ सय २७ हेक्टर अर्थात् ६५.९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। गत वर्ष यही अवधिमा गण्डकीमा ७१.०३ प्रतिशत रोपाइँ भएको थियो।
कर्णाली प्रदेशमा कुल ४३ हजार २ सय ९० हेक्टरमध्ये २६ हजार ६७ हेक्टरमा रोपाइँ भएको छ। यो ६०.२ प्रतिशत हो। गत वर्ष कर्णालीमा यही अवधिमा ८३.२३ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।
लुम्बिनी प्रदेशमा कुल ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७९ हजार ६ सय ३१ हेक्टरमा रोपाइँ भएको छ। यो ५९.६ प्रतिशत हो।
त्यस्तै बागमती प्रदेशमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ६५ हजार ४ सय ४६ हेक्टर अर्थात् ५७.१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि विभागको तथ्यांकमा उल्लेख छ।
समयमै पर्याप्त वर्षा नहुँदा र मौसम अनुकूल नहुँदा कतिपय क्षेत्रमा रोपाइँ प्रभावित भएको कृषि अधिकारीहरूले बताएका छन्।













प्रतिक्रिया दिनुहोस्