उपसभामुख रुवी कुमारी नेतृत्वको प्रतिनिधिमण्डल चीन प्रस्थान
काठमाडौं, ३१ असार । प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित निङ्छी सहरमा आयोजना हुने ‘द फिफ्थ चाइना सिजाङ ट्रान्स हिमालय फोरम फर इन्टरनेसनल कोअपरेसन’ मा सहभागी हुन आज चीन प्रस्थान गरेको छ।
सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधिमण्डल बिहान पौने १ बजे सिचुआन एयरलाइन्समार्फत चीनतर्फ प्रस्थान गरेको हो। टोलीमा उपसभामुख रुवी कुमारीसहित सङ्घीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर प्रोग्रामर अनिशा ढकाल रहेका छन्।
असार ३१ गतेदेखि साउन १ गते (१५–१७ जुलाई २०२६) सम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय फोरममा उपसभामुख रुवी कुमारीले नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा उपसभामुख रुवी कुमारी र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) सिजाङ स्वशासित क्षेत्रीय कमिटीका सचिव वाङ जुनझेङबीच शिष्टाचार भेटवार्ता तथा नेपाल–चीन सम्बन्ध र आपसी सहकार्यका विषयमा द्विपक्षीय छलफल हुने कार्यक्रम तय गरिएको छ।
भ्रमण सम्पन्न गरी नेपाली प्रतिनिधिमण्डल आगामी साउन ४ गते काठमाडौं फर्कने कार्यतालिका रहेको सङ्घीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।













प्रतिक्रिया दिनुहोस्