‘कालिमाटीमा नेपालीभन्दा भारतीय ट्रक बढी देखिन्छन्’ : कृषि र जडीबुटीमा लगानी बढाउन सांसद भुसालको आग्रह

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिप्रसाद भुसालले आयात प्रतिस्थापनका लागि कृषि उत्पादन वृद्धि र प्राकृतिक स्रोतको प्रभावकारी उपयोगमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भुसालले कालिमाटी र बल्खु तरकारी बजारमा नेपालीभन्दा भारतीय नम्बर प्लेटका ट्रक बढी देखिने अवस्था रहेको उल्लेख गर्दै दैनिक ठूलो परिमाणमा तरकारी र फलफूल आयात भइरहेको बताए।

“आज हामी कालिमाटी वा बल्खु तरकारी मण्डीमा पुग्यौं भने नेपालीभन्दा भारतीय नम्बर प्लेट भएका ट्रक बढी देख्छौं। ती सवारीसँगै दैनिक लाखौँ रुपैयाँ बराबरका तरकारी र फलफूल नेपाल भित्रिरहेका छन्,” उनले भने।

उनले अधिकांश आयातित कृषि उपज नेपालमै उत्पादन गर्न सकिने भए पनि उत्पादन प्रोत्साहन गर्ने नीति, बजारको सुनिश्चितता र किसानप्रतिको विश्वासको अभावका कारण आयातमा निर्भर रहनुपरेको बताए।

“किसानलाई उत्पादन गर भन्नु मात्र पर्याप्त हुँदैन। सरकारले वैज्ञानिक माटो परीक्षण, स्थानीय भूगोलअनुसार उपयुक्त बालीको सिफारिस, गुणस्तरीय बीउ, आधुनिक प्रविधि र सबैभन्दा महत्वपूर्ण उत्पादित वस्तुको बजारीकरणको ग्यारेन्टी गर्नुपर्छ,” उनले भने।

किसानले उत्पादन बिक्री हुने विश्वास पाए खेतबारी बाँझो नरहने, युवाको विदेश पलायन घट्ने र आयातमा निर्भरता कम हुने उनको भनाइ थियो।

सांसद भुसालले आफ्नो गृहजिल्ला अर्घाखाँचीमा सुन्तला, अदुवा, बेसार, कफी, तरकारी, नगदे बाली तथा बहुमूल्य जडीबुटी उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उचित योजना, प्रशोधन र बजार व्यवस्थापन भए पहाडी जिल्लाहरूले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने बताए।

नेपालका पहाड, जंगल र खोल्सीमा पाइने बहुमूल्य जडीबुटी वर्षेनी खेर गइरहेको उल्लेख गर्दै उनले यसको वैज्ञानिक संकलन, प्रशोधन र बजार व्यवस्थापन गर्न सके लाखौँ नागरिकको आयआर्जन बढ्ने दाबी गरे।

यसका लागि सिंहदरबार वैद्यखानालाई स्रोत–साधन, जनशक्ति र आधुनिक प्रविधिसहित सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले स्वदेशमै जडीबुटी प्रशोधन र औषधि उत्पादन विस्तार गर्न सके आयात प्रतिस्थापनसँगै निर्यात प्रवर्द्धनमा पनि टेवा पुग्ने बताए।

“देश तब मात्र समृद्ध बन्छ, जब नागरिकको आय बढ्छ। व्यक्तिको आम्दानी बढेपछि क्रयशक्ति बढ्छ, रोजगारी सिर्जना हुन्छ र अर्थतन्त्र सुदृढ बन्छ,” उनले भने।

सांसद भुसालले आयात प्रतिस्थापनलाई नारामा सीमित नराखी कृषि र जडीबुटी क्षेत्रको उत्पादनदेखि प्रशोधन र बजारीकरणसम्म स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे। उनले आत्मनिर्भर नेपालको यात्रालाई आफ्नै माटो, स्रोत र सम्भावनामाथिको विश्वासबाट अघि बढाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्