अदुवाखेतीले फेर्यो पर्वतका किसानको जीवन, बाँदरको समस्या पनि घट्दै
काठमाडौं, ३० असार । पैंयू गाउँपालिकाका किसानले ६० रोपनी क्षेत्रफलमा सामूहिक रूपमा अदुवाखेती सुरु गरेपछि बाँदरको समस्या क्रमशः घट्दै गएको छ। बाँदर तथा अन्य वन्यजन्तुबाट मकै बालीमा ठूलो क्षति व्यहोर्दै आएका दक्षिण पर्वत अधिकारीडाँडाका किसानले मकै खेती विस्थापित गर्दै अदुवाखेती अपनाएका हुन्।
अदुवा नगदे तथा मसला बाली भएकाले किसानको आम्दानी बढाउने माध्यम बनेको छ। अधिकारीडाँडाका ४० जना कृषकले गत वर्ष पाँच रोपनीमा गरिएको अदुवाखेतीबाट राम्रो आम्दानी भएपछि यस वर्ष खेती विस्तार गरी ६० रोपनी पुर्याएका हुन्।
समूहका अध्यक्ष हुमलाल अधिकारीका अनुसार गत वर्ष करिब ६० क्विन्टल अदुवा बिक्री गरी किसानले रु ६ लाख आम्दानी गरेका थिए। यस वर्ष १० मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ। गत वैशाखमा रोपिएको अदुवा आगामी पुसमा खनेर बजारमा पठाइनेछ। प्रत्येक कृषकले चारदेखि छ क्विन्टलसम्म अदुवा रोपेका छन्।
मकै र कोदो खेती छाडेर अदुवा लगाउन थालेपछि बाँदरको उपद्रो पनि कम भएको किसानको अनुभव छ। स्थानीय ‘नशे’ जातको अदुवाको उत्पादन राम्रो भएपछि कृषकहरू थप उत्साहित भएका छन्। आम्दानी दोब्बर भएपछि अदुवाखेतीप्रति आकर्षण बढेको समूहले जनाएको छ।
अदुवाखेती प्रवर्द्धनका लागि कृषि विकास कार्यालय पर्वतले किसानलाई बीउमा प्रतिकिलो रु एक सय र बजार मूल्यमा प्रतिकिलो रु ५० का दरले अनुदान उपलब्ध गराएको छ। यस वर्ष पालिकाले समूहलाई थप रु तीन लाख अनुदान दिएको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए।
नेपाल विश्वकै चौथो ठूलो अदुवा उत्पादक राष्ट्र हो। नेपालमा उत्पादन हुने अदुवाको ठूलो हिस्सा भारतलगायतका देशमा निर्यात हुँदै आएको छ। ग्रामीण अर्थतन्त्र सुदृढ गर्न र कृषकको आयआर्जन बढाउन अदुवा खेतीलाई महत्त्वपूर्ण बालीका रूपमा लिइन्छ।
नेपालका ६९ जिल्लामा व्यावसायिक रूपमा अदुवा खेती हुँदै आएको छ। इलाम, सल्यान, पाल्पा, डोटी, मकवानपुर र धनकुटा प्रमुख अदुवा उत्पादन गर्ने जिल्लामध्ये पर्छन्।
— रासस













प्रतिक्रिया दिनुहोस्