तस्करी प्रकरणमा सशस्त्रका २ डीएसपीसहित ८ जना छानबिनमा तानिए

काठमाडौं, ३० असार । सशस्त्र प्रहरी बलका २ जना डीएसपीसहित ८ जना सुरक्षाकर्मीलाई छानबिनका लागि हेडक्वार्टर तानिएको छ। तस्करीसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आशंकामा उनीहरूमाथि छानबिन सुरु गरिएको हो।

छानबिनका लागि तानिनेमा यसअघि झापाको काँकडभिट्टामा कार्यरत रही हाल इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती, सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीका डीएसपी शमशेर कार्की र बोर्डर आउट पोस्ट (बीओपी) लौकही सुनसरीका इन्स्पेक्टर नरेन्द्र चन्द रहेका छन्।

यस्तै, नं. ३८ रिजर्भ गणमा कार्यरत हवल्दारद्वय हरि मगर र केशव गुरुङ, नं. २ गण झापाका हवल्दार विश्वास राजवंशी, सशस्त्र प्रहरी पूर्व क्षेत्रीय अस्पताल सुनसरीका सई गणेश खड्का र नं. ४ गण सुनसरीका जवान पारस यादवलाई पनि छानबिनका लागि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक तानिएको छ।

छानबिनका क्रममा सई गणेश खड्का र अन्य सुरक्षाकर्मीले बयान दिँदा डीएसपी तथा इन्स्पेक्टरहरूको नाम उल्लेख गरेपछि उनीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याइएको स्रोतले जनाएको छ।

बयानका क्रममा तस्करीका लागि रकम संकलन गरी मासिक रूपमा केही प्रहरी अधिकारीलाई बुझाउने गरेको खुलासा भएको बताइएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले केही व्यक्तिलाई छानबिनका लागि हेडक्वार्टर बोलाइएको पुष्टि गरे पनि उनीहरूको नाम सार्वजनिक गर्न नमिल्ने बताए।

“छानबिनका लागि केही व्यक्तिलाई तानेका हौं। उहाँहरूको नाम भने सार्वजनिक गर्न मिल्दैन,” डीआईजी कार्कीले भने।

प्रतिक्रिया दिनुहोस्