सिमखोलाले बगाएको स्कुटर फेला, चालक अझै बेपत्ता
काठमाडौं, ३० असार । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ स्थित सिमखोलाको बाढीले बगाएको स्कुटर फेला परेको छ। सोमबार दिउँसो काठमाडौंबाट हेटौंडातर्फ आउँदै गर्दा बाढीले बगाएको स्कुटर मंगलबार बिहान खोलामा फेला परेको हो।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार हेटौंडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत कुलेखानी ड्याममुनि रहेको सिमखोलामा आएको बाढीको तीव्र बहावले बा.प्र. ०२–०३२ च ८०५४ नम्बरको होन्डा एभिएटर स्कुटर बगाएको थियो।
प्रहरीका अनुसार सडकबाट करिब २०० मिटर तल खोलामा मंगलबार बिहान करिब १० बजे स्कुटर फेला परेको हो। प्रहरी टोलीले स्कुटर खोलाबाट बाहिर निकालेको जनाएको छ।
स्कुटरका चालक भने अझै सम्पर्कविहीन छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले स्कुटर कसको नाममा दर्ता छ भन्ने विषयमा पनि अनुसन्धान भइरहेको जानकारी दिएको छ।













प्रतिक्रिया दिनुहोस्