लगातार तेस्रो जितसहित नेपाल समूहविजेता, यू–१९ महिला प्रिमियर कपको क्वाटरफाइनलमा
काठमाडौं, ३० असार । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित दर्ता गर्दै समूह ‘डी’ को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
मंगलबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई १८१ रनको फराकिलो अन्तरले पराजित गर्दै अपराजित रहँदै अन्तिम आठमा प्रवेश गरेको हो।
नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो। हङकङका लागि वोङ विङले सर्वाधिक १३ रन बनाइन् भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्।
नेपालका लागि कप्तान सोनी पाख्रिनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ४ रन मात्र खर्चेर ४ विकेट लिइन्। मनिषा उपाध्यायले २ विकेट हात पारिन् भने कृश्मा गुरुङ र स्नेहा महराले समान १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रनको विशाल योगफल बनाएको थियो।
कप्तान सोनी पाख्रिनले ६० बलमा १३ चौका र १ छक्कासहित सर्वाधिक ९० रनको शानदार इनिङ्स खेलिन्। सावित्री धामीले ५२ रनको अर्धशतकीय योगदान दिँदा अलिशा यादव २३ रनमा अविजित रहिन्।
नेपालले बनाएको २११ रन यू–१९ महिला क्रिकेटमा नेपालको दोस्रो उच्च योगफल हो। साथै, जारी प्रतियोगिताकै सबैभन्दा ठूलो स्कोर पनि बनेको छ। यसअघि नेपालले सन् २०२५ को यू–१९ महिला टी–२० विश्वकप छनोटमा कुवेतविरुद्ध २१३ रन बनाएको थियो।
हङकङका लागि निमरा अरबले २ विकेट लिइन् भने वोङ विङ र आरुज फातिमाले समान १–१ विकेट हात पारे।
नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा कतारलाई १०५ रन र दोस्रो खेलमा सिंगापुरलाई १५१ रनले हराएको थियो। लगातार तीन जितसँगै नेपाल समूह विजेता बन्दै आत्मविश्वासका साथ क्वाटरफाइनलमा पुगेको छ।













प्रतिक्रिया दिनुहोस्