ट्राफिक प्रहरीद्वारा एक महिनामा ५१ चोरीका मोटरसाइकल तथा स्कुटर बरामद

काठमाडौं, २९ असार । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले चोरी भएका ५१ वटा मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले सोमबार अनुसन्धानका क्रममा फेला परेका दुईपांग्रे सवारी साधन सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेका हुन्।

एसएसपी काफ्लेका अनुसार पछिल्लो एक महिनाको अवधिमा ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरी चोरी भएका सवारी साधनको खोजीलाई तीव्र बनाएको थियो। उक्त अभियानअन्तर्गत ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर फेला पारिएको हो।

“हामीले विशेष अभियान सुरु गरेर चोरी भएका मोटरसाइकलको खोजी तीव्र बनाएका छौँ,” एसएसपी काफ्लेले बताए।

प्रहरीले चोरी नियन्त्रण तथा हराएका सवारी साधनको खोजीका लागि अनुसन्धान र निगरानीलाई थप प्रभावकारी बनाउँदै लगिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्