नयाँ राहदानी प्रणालीको पहिलो दिनमै देशभर प्राविधिक समस्या

काठमाडौं, २९ असार । राहदानी विभागले सोमबारदेखि नयाँ राहदानी (पासपोर्ट) छपाइ तथा वितरण प्रणाली सञ्चालनमा ल्याए पनि पहिलो दिनमै देशभर प्राविधिक समस्या देखिएको छ। प्रणालीमा अवरोध आएपछि विभिन्न जिल्लाका सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ।

विभागका अनुसार जर्मन कम्पनी म्युहलबउर (Mühlbauer)भेरिडोस (Veridos) को सहकार्यमा नयाँ प्रणाली कार्यान्वयन गरिएको हो। तर, सेवा सुरु भएकै दिन पाल्पा, अर्घाखाँची, बैतडी, महोत्तरी, काभ्रे, उदयपुर, बारा र म्याग्दी लगायतका जिल्लामा प्रणालीले प्रभावकारी रूपमा काम गर्न सकेन। कतिपय कार्यालयमा पासवर्डले काम नगरेको, भने केही स्थानमा प्रणाली नै ‘डाउन’ भएको जानकारी प्राप्त भएको छ।

प्राविधिक समस्याका कारण त्रिपुरेश्वरस्थित राहदानी विभागमा समेत सेवाग्राहीको भीड बढेको छ। नयाँ प्रणाली सञ्चालनसँगै पुरानो प्रणाली विस्थापित गर्ने सरकारको योजना सुरुवातमै चुनौतीमा परेको देखिएको छ।

सोमबार बिहान परराष्ट्रमन्त्री शिशिर खनालले दुई जना नाबालकको राहदानी छपाइ गरी नयाँ प्रणालीको औपचारिक शुभारम्भ गरेका थिए। विभागले करिब एक करोड नेपालीको विवरण सफलतापूर्वक नयाँ प्रणालीमा स्थानान्तरण (डेटा माइग्रेसन) गरिएको जनाएको छ। यसअघि सन् २०१८ देखि फ्रान्सेली कम्पनी आइडिमिया (IDEMIA) ले राहदानी छपाइको जिम्मेवारी सम्हाल्दै आएको थियो।

नयाँ ठेक्का प्रक्रिया सुरुदेखि नै विवादमा परेको थियो। ठेक्कामा अनियमितता भएको आरोप लगाउँदै छानबिनको मागसमेत उठेको थियो। यद्यपि अन्तर्राष्ट्रिय सम्झौता तथा प्राविधिक कारण देखाउँदै सरकारले ठेक्का प्रक्रिया यथावत् अघि बढाएको थियो।

राहदानी विभागले भने प्रारम्भिक चरणमा प्राविधिक चुनौती आउनु अस्वाभाविक नभएको जनाएको छ। विभागकी उपनिर्देशक सोनु थापाका अनुसार प्रणाली सुधारका लागि प्राविधिक टोली तथा विदेशी विशेषज्ञहरू चौबीसै घण्टा खटिएका छन्। विभागले समस्या छिट्टै समाधान गरी सेवा नियमित बनाइने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्